काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज पपुवा न्युगिनी (पिएनजी) ले युएईलाई ५६ रनले पराजित गरेको छ ।
पीएनजीले दिएको २४७ रनको लक्ष्य पछाएको युएई ४२.२ ओभरमा १९० रन बनाएर अलआउट भएपछि पीएनजीले ५६ रनको जित हासिल गरेको हो ।
पीएनजीले युएईलाई पछिल्ला तीन खेलमा लगातार पराजित गरेको छ ।
युएईका लागि आर्यन लाक्राले ५१ रन बनाएका थिए भने मुहमद वासीमले ४१ रन बनाएका थिए । त्यस्तै सिपी रिजवान र जवार फरिदले १९-१९ रन बनाएका थिए भने कार्थिक मयैप्पनले १४ रन बनाएका थिए ।
त्यसैगरी पीएनजीका बलर रिले हेकुरेले ३ विकेट, कुबा मरिया र असाद भालाले २-२ विकेट लिएका थिए भने सेमो कमेया र नोरमान भानुवाले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।
पीएनजीका लागि ओपनर किप्लिन डोरिगाले ५५, अर्का ओपनर हिरी हिरीले ७७ रन्को योगदान गरेका थिए ।
त्यस्तै सेसे बाउले अविजित ८१ रन बनाए भने चाद सोपर र नोरमान भानुवाले १०-१० रन बनाएका थिए । त्यस्तै कप्तान असाद भाला शुन्यमा आउट भएका थिए भने चार्लेज अमिनी ४, रिले हेकुरे १ रनमा आउट भएका थिए ।
त्यसैगरी युएईका बलर आयान अफजल खानले सर्बाधिक ३ विकेट लिए भने जुनैद सिद्धिकी र जहुर खानले २-२ विकेट लिए भने रोहन मुस्ताफा र कार्थिक मयैप्पनले एक एक विकेट लिए ।
यो जितपछि आइसीसी विश्वकप लिग-२ अन्तर्गत पीएनजीको ३४ खेलमा ११ अंक भएको छ । त्यस्तै युएईलाई भने यस हारले विश्वकप क्वालिफायरमा छनौट हुने सम्भावना समाप्त भएको छ । युएईको ३३ खेलमा ३१ अंक रहेको छ ।
अब यस सिरिजको अर्को खेल आगामी आइतबार नेपाल र युएईबीच हुने छ ।




