खेलकुद

टी-ट्वान्टी लिगको उपाधि विजेतालाई ५५ लाख

काठमाडौं । काठमाडौंमा भोलि (शनिबार) बाट हुने टी-ट्वान्टी लिगमा विजेताका लागि पुरस्कार राशि घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशि घोषणा गरेको हो ।

हिजो शुक्रबारदेखि सुरु हुने भनिएको टी-ट्वान्टी लिग विदेशी खेलाडीहरुको श्रम स्वीकृति नभएको र प्राविधिक कारणले एकदिन पछि सारेर प्रतियोगिता गर्न लागेको क्यानले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो संस्करणको टी-ट्वान्टी लिगका विजेतालाई ५५ लाख रुपैयाँ र ट्रफी दिइने छ । यस्तै दोस्रो, तेस्रो र चौथो हुने टोलीलाई क्रमश: ३० लाख, १० लाख र ५ लाख रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने अध्यक्ष चन्दले जनाए । क्यानले घोषणा शुक्रबार गरेको पुरस्कार राशि घरेलु क्रिकेटमा अहिलेसम्मकै उच्च हो ।

चन्दका अनुसार प्लेयर अफ दी टुर्नामेन्टलाई ५ लाख रुपैयाँ दिइने र उत्कृष्ट बलर र ब्याट्‍सम्यानलाई दुई लाख ५० हजार रुपैयाँ दिइनेछ । लिगमा म्यान अफ दी म्याचलाई ४० हजार रुपैयाँ पुरस्कारको व्यवस्था मिलाइएको छ । यस्तै उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) लाई एक लाख ८० हजार रुपैयाँ पुरस्कार स्वरुप दिइने अध्यक्ष चन्दले बताए ।

क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागी हुन ६ विदेशी खेलाडी पनि नेपाल आएका छन् । खेलमा सहभागी हुन जनकपुर रोयल्सका वेस्ट इन्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट तथा विराटनगर सुपर किंग्सका लागि वेस्ट इन्डिजका आन्द्रे म्याकार्थी र किओन जोसेफ तथा अमेरिकाका गौरान्शु शर्मा र राज रकी नानन सोमबार नेपाल आएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *