निर्वाचन-२०७९

काठमाडौं–१ मा ४५ हजार मतदाताले चुन्नेछन् आफ्नो प्रतिनिधि

काठमाडौं । चुनावी माहोल निकै तातिरहेको छ । राजनीतिक दलका नेतादेखि जनतासम्ममा उत्तिकै राजनीतिक चासो र उत्सुकता बढिरहेको छ । अन्य जिल्लाको जस्तै काठमाडौं–१ मा पनि उत्तिकै चासो बढेको देखिन्छ ।

विशेषगरी प्रतिनिधिसभा सदस्य पदका लागि कांग्रेस नेता प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रको प्रतिस्पर्धाले पनि यो क्षेत्र बढी चर्चामा छ । २०५१, ०६४, ०७० र २०७४ मा निर्वाचित भएका सिंहको विरासतमाथि अन्य उम्मेदवारले चुनौती दिएका छन् । २०७४ सालमा सिंहसँग पराजित भएका मिश्र यसपटक पनि प्रतिस्पर्धामा उत्रिएका छन् । यो क्षेत्रमा सिंह, मिश्रसहित ३० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

यसपटक सिंहसँग बदला लिने मिश्रले दाबी गरिरहँदा उनीहरुलाई चुनौती दिँदै स्वतन्त्रसहितका उम्मेदवार पनि मैदानमा छन् । २०७४ सालमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र यसपटक भने राप्रपाबाट उम्मेदवारी दिएका हुन् ।

युवा र स्वतन्त्रको उम्मेदवारको लहर चलिरहेका बेला एमालेले भने सो क्षेत्रबाट युवालाई उम्मेदवार बनाएको छ । नयाँ अनुहारमा उम्मेदवार अघि सारेको एमालेले काठमाडौं–१ बाट युवा संघ नेपालका अध्यक्ष किरण पौडेललाई सिंह र मिश्रसहितका उम्मेदवारसँग प्रतिस्पर्धामा उतारेको हो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई उम्मेदवार बनाएको छ । नेपाल सुशासन पार्टीबाट नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल, नेपाल मजदुर किसान पार्टीबाट हरिशरण श्रेष्ठ, विवेकशील साझा पार्टीबाट शंकर बन्जाडे, हाम्रो नेपाली पार्टीबाट डम्बर शाहु, जनमत पार्टीबाट हरेन्द्र चौधरीले उम्मेदवारी दिएका छन् ।

यसैगरी बालकृष्ण न्यौपाने, प्रकाश नायजु, प्रकाश श्रेष्ठ, सुरेन्द्र प्रसाद ढकाल, मिरा विष्ट, देव शर्मा, निर्जल शाह, शान्तिदेवी केसी, मानबहादुर राई, रिषम भट्टराई, किरणकुमार शर्मा पौडेल, हरिकुमार घले, मनिता (लिगल) श्रेष्ठ, गोमा खतिवडा अधिकारी, खुमकला लामिछाने, निर्जल शाह, देव शर्मा, संगिता राजबाहक, मन्जु राना मगर, संगीता बोगटी, सुनिता बसेल, इन्द्रबहादुर थापा, गोमा खतिवडा अधिकारी, दुर्गाप्रसाद लिम्बू, सीता तामाङ केसी, कुलबहादुर तामाङले काठमाडौं–१बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

काठमाडौंमा १० निर्वाचन क्षेत्र छन्, जसमा करिब ६ लाख ३७ हजार ७७५ मतदाता छन भने १ हजार १६७ मतदाता केन्द्र छन् । महिला मतदाताको संख्या ३ लाख २९ हजार ५४५, पुरुष मतदाता भने ३ लाख ८ हजार २२१ छन् भने अन्यमा जम्मा ९ जना मतदाता छन् । काठमाडौं–१ मा करिब ४५ हजार १८ जना मतदाता छन् । जसमा ५२ मतदान केन्द्र छन् । काठमाडौं–१ मा काठमाडौं महानगरपालिकाको वडा नं. १०, ११, २९ र ३१ पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *