निर्वाचन-२०७९

वीना मगरलाई अघिल्लो निर्वाचनका सारथी तामाङको चुनौती

महेन्द्रनगर । भनिन्छ राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । निर्वाचनका बेला तालमेलदेखि गठबन्धनसम्म गरिरहेका राजनीतिक दलहरुभित्र कुन बेला को शत्रु र को मित्र हुने भन्ने यकिन हुँदैन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा यस्तै अवस्था छ ।

मुलुक निर्वाचनमय बनेका बेला कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्री) की नेतृ एवं पूर्वमन्त्री वीना मगर चुनावी मैदानमा छन् । उनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजारभन्दा बढी मतले पराजित गरेकी थिइन् । उनी लगत्तै खानेपानीमन्त्री बनिन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भने अघिल्लो निर्वाचनमा पराजित तिनै विष्ट मगरको सारथी बनेका छन् ।

काँग्रेस नेता विष्टले २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा मगरलाई झिनो मतान्तरले पराजित गरेका थिए । दोस्रो पटकको प्रयासमा उनी निर्वाचित भएकी थिइन् । विसं २०७४ को निर्वाचनमा भने नेकपा (एमाले) का तत्कालीन जिल्ला अध्यक्ष तारा लामा तामाङ मगरको मुख्य सारथी थिए । तर यसपटकको निर्वाचनमा भने तिनै तामाङसित मगरले मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

पाँच दलीय गठबन्धनले क्षेत्र नं १ मा मगरलाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको छ । एमालेले भने सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तामाङलाई चुनावी मैदानमा उतारेको छ । एमाले फुट्दा नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्रीसमेत बने । उनलाई केही महिनाअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगरमा आयोजित कार्यक्रममा पार्टीमा फर्काएका हुन् ।

यसअघि २०७४ सालमा भएको कम्युनिष्ट गठबन्धनमा मगरले प्रतिनिधिसभा सदस्यमा जित्दा तामाङ भने सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । आसन्न निर्वाचनमा कांग्रेस नेता विष्ट निर्वाचन क्षेत्र नं १ ‘ख’ बाट प्रदेशसभा सदस्यतर्फ उम्मेदवार छन् । कांग्रेसको साथ पाएकी मगर जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदानमा छन् । त्यस्तै एमाले उम्मेदवार तामाङ पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा होमिएका छन् । पार्टीको टिकट वितरणबाट असन्तुष्ट बनेका एमालेका पुराना नेता खेम सुवेदी उक्त निर्वाचन क्षेत्रबाट स्वतन्त्रबाट उम्मेदवार बनेका छन् ।

माछा चुनाव चिह्नका साथ निर्वाचनमा होमिएका सुवेदीले एमालेको भोट बढी ल्याउने आकलन गरिएको छ । त्यो अवस्थामा तामाङलाई जित्न असहज हुने एमालेका एक स्थानीयहरुको विश्लेषण रहेको छ ।

चार पालिका रहेको निर्वाचन क्षेत्र नं १ मा दुई पालिकामा कांग्रेस र एक-एक पालिकामा माओवादी केन्द्र र एमाले विजयी भएका थिए ।

कांग्रेसका पूराना नेता गोपाल गुरुङ माओवादी केन्द्र र कांग्रेसको मिलनले गठबन्धनका उम्मेदवारलाई फाइदा पुग्ने बताउछन् । अघिल्लो निर्वाचनमा प्रदेशसभामा एमाले नेता तामाङसित पराजित भएका नेता गुरुङले गठबन्धनलाई सहज तथा अन्यलाई जित्न सकस हुने दाबी गर्छन् ।

एमालेबाट निर्वाचन क्षेत्र नं १ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहनुभएका एमाले जिल्ला सचिव पल्लवराज भट्ट भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँचदलीय गठबन्धनभन्दा एमाले उम्मेदवार बलियो अवस्थामा रहेको दाबी गर्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *