धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुले पवित्र उद्देश्यबाट निर्देशित भएर गठबन्धन बनाएको बताएका छन् । आज (आइतबार) धनगढीमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले गठबन्धन गरेको जिकिर गरे ।
फरक सिद्धान्त बोकेका कांग्रेस र कम्युनिष्ट ०७ सालदेखि ०६४ सालसम्म आवश्यक पर्दा एकताबद्ध भएका स्मरण गराउँदै अध्यक्ष नेपालले अहिले पनि प्राप्त उपलब्धीहरु गुम्ने खतरा रहेकाले आफूहरुले गठबन्धन गरेको बताए ।
‘त्यो एकताको क्रम अघि बढिरहेको छ । कहिले कांग्रेस–माओवादीसहितको सरकार, कहिले एमाले र कांग्रेसको सरकार, कहिले हामी सबैको संयुक्त सरकार विभिन्न समयमा बन्दै आएको छ । त्यसो हुनाले हामीबीचको यो एकता र गठबन्धन स्वभाविक हो,’ उनले भने । प्रतिपक्षले राष्ट्रको हितमा कुठाराघात गर्नेहरुसँग गठबन्धन गरेको आरोप लगाउँदै नेपालले लोकतन्त्र र गणतन्त्र अहिले पनि जोखिममा रहेको जिकिर गरे ।
अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलका कार्यकर्ता र मतदाताहरुले अरु दललाई मत दिन नहुने बताएका छन् ।
‘सत्तारुढ दलका कार्यकर्ताले गठबन्धनलाई मात्रै मत दिनुपर्छ’, उनले भने, ‘म कांग्रेस कार्यकर्ता हुँ, रुखबाहेक अरुमा भोट हाल्दिनँ भन्न पाइँदैन ।’ उनले माओवादी कार्कर्ताले पनि गठबन्धनका दलहरुलाई भोट दिन डराउन नहुने बताएका छन् ।
‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिह्नमा मात्रै भोट हाल्छु भन्ने कुरा हुँदैन,’ उनले भने, ‘गठबन्धन देश विकासमा लागि बनेको हो । त्यसैले गठबन्धनले जित्नु पर्छ ।’




