काठमाडौ । गीतकार तथा निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।
दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा अक्सिजन कम भएपछि बिहान १० ः २५ मा मृत्यु भएको हो । उनको जन्म १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो। सैनिक पृष्ठभूमि भएको परिवारमा जन्मेका उनले भारतको देहरादुनमा पढे।
सानै उमेरदेखि नेपाली लोकसंगीत र संस्कृतिमा रुचि राख्ने उनले गीतकार, कवि, निर्देशक र नेपाली लोक(संस्कृतिको अध्येताका रुपमा नाम कमाएका छन्।
ुपरिवर्तनु सिनेमाको पटकथा र गीत लेखेका कार्कीले विश्वास, भूमरी र पहिलो प्रेम सिनेमा निर्देशनसमेत गरेका छन्।
उनी दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन्। उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।
गीति संग्रह, कथा, कविता र उपन्याससमेत सार्वजनिक गरेका उनका हिन्दी र उर्दू कविता संग्रहसमेत प्रकाशित छन्।
उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।




