काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीमा प्रस्तुत गर्ने सहमतिको प्रस्ताव तयार पारेका छन् । दुई अध्यक्षको सहमतिमा शुक्रबार बोलाइएको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव बुधबार अन्तिम रुप दिएका हुन् ।
पार्टीभित्रको समस्या समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझाब र गत १८ भदौको सचिवालय बैठकमा नेताहरूबाट प्राप्त सुझाबका आधारमा उनीहरूले प्रस्तावको गृहकार्य गरेका थिए । तीन दिनसम्म लगातारको छलफलपछि अन्तिम रुप दिएका हुन् । ओली र प्रचण्डले तयार पारेको प्रतिवेदनमा आधारित भएर छलफलका लागि बोलाइएको बैठक सकभर दुई दिनभित्रै सम्पन्न गर्ने नेकपाको तयारी रहेको स्रोतले जनाएको छ । गत ८ वैशाखबाट १३ साउनसम्म उत्कर्षमा पुगेको विवादलाई शुक्रबार बस्ने स्थायी कमिटी बैठकबाट समाधानतर्फ लैजाने योजना दुई अध्यक्षले लिएको नेकपा स्रोतले जनाएको छ ।
त्यसलगत्तै मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक अंग र महत्वपूर्ण स्थानमा राजनीतिक नियुक्तिका विषयहरू टुंग्याउने प्रधानमन्त्री ओलीले तयारी गरेका छन् । अध्यक्षद्धयले तयार पारेको सहमतिको प्रस्ताव अध्ययनका लागि सबै स्थायी कमिटी सदस्यहरुलाई पठाइने भएको छ ।
[pdf-embedder url=”http://wp_sankalpakhabar.localhost/wp-content/uploads/2020/09/Prastab-2077-.-05-.-26-1.pdf” title=”Prastab-2077-.-05-.-26″]




