मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

माघ ४ बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा देखि सम्मका समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

नेपाल शान्तिको देश भएकाले विश्वमा कुनै पनि देशमा भएको द्धोन्द्वमा खुशी हुन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताए ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड शुक्रबार यस्तो बताएका हुन् । विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्रसङ्घका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसङ्घपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल शान्तिको देश भएकाले विश्वमा कुनै पनि देशमा भएको द्धोन्द्वमा खुशी हुन नसक्ने बताए । विश्वमाझ बल्झिएका कुनै पनि युद्ध सहमतिका साथ समाधान हुनुपर्ने उनले बताए । साथै प्रधानमन्त्री प्रचण्डले विश्वका कुनै पनि राष्ट्रले भुराजनीति गर्न नहुने समेत बताए । प्रतिद्वन्द्वको निन्दा गर्ने बताए ।युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ । नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्न आवश्यक रहेको उनले बताए ।

नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्पारिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले असम्लग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो ।’ नाम’ का निरन्तरको मूल्यमान्यता र सिद्धान्तहरु पवित्र रहेको उल्लेख गर्दै प्रचण्डले यसको पालनाले नेपाललाई शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्ग निर्देश गरिरहेको बताए ।

लगानी सम्मेलनको तयारी तीव्र पार्न अर्थमन्त्री महतको निर्देशन

आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा प्रकाशशरण महतले निर्देशन दिएका छन् । आज बसेको लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री महतले आवश्यक नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।

आगामी लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे ।

आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो ।

निर्देशक समितिको आजको बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।

लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ ।

साथै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा)को संयोजकत्वमा कार्यदल गठन भएको छ । यी सबै समिति र कार्यदलहरूले आ-आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन् ।

आज सम्पन्न निर्देशक समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता सङ्गठनहरूको सहभागिता रहेको थियो ।

सबै प्रदेशमा पुग्यो राष्ट्रियसभा निर्वाचनको मतपत्र

 निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याएको छ । आज (शुक्रबार)सम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ । प्रदेशसभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङ्गको कागजमा रातो रङ्गको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्य पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ । मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको सहायक प्रवक्ता पन्थीले बताए ।

आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्र छन् ।

निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरुको पदावधि २०८० फागुन २१ गते देखि ६ वर्षसम्म रहनेछ ।

केन्द्रीय परिषद‍् बैठकमा सहभागी हुने नेताहरुलाई दुई बुँदे निर्देशन पालना गर्न एकीकृत समाजवादीको आग्रह

नेकपा (एकीकृत समाजवादी)को आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूले दुई बुँदे निर्देशन पालना गर्नुपर्ने भएको छ । शुक्रबार एक सुचना जारी गर्दै महासचिव घनश्याम भुसालले आगामी माघ १४ गते र १५ गते हुने परिषदमा नेताहरुले दुई बुँदे नियम पालना गर्नुपर्ने जनाएका हुन् ।

महासचिव भुसालले जारी गरेको सूचनामा केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेताहरूले पार्टी सदस्यता अनिवार्य नवीकरण गरेको हुनुपर्ने र परिषद् बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, लगायतका कमिटीमा रहेका नेताहरूले समयमै आफ्नो कार्यक्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई बैठकबारे जानकारी गराउनुपर्नेछ ।

परिषद् बैठकमा विधान संशोधन मस्यौदाबारे छलफल गर्ने लगायत पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामाथि सुझाव संकलन गर्न जिल्ला तहमा पठाएको छ । जिल्ला तहका कार्यकर्ताको सुझाव समेत समेटेर एकीकृत मस्यौदा परिषदमा पेस गरेपछि केन्द्रीय परिषद् बैठकले पारित गरेको विधान मस्यौदा आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार परिषद् बैठकमा पार्टी केन्द्रीय कमिटी, आयोग, प्रदेश कमिटी, जिल्ला कमिटी अध्यक्षहरू, प्रदेशमा मनोनीत, भ्रातृ संगठनका पदाधिकारीसहित एक हजार २ सय बढी प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठक काठमाडौमा हुनेछ ।

सभापति देउवा जिल्ला सम्मेलनलाई सम्बोधन गर्न स्याङजा जाने

 नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताहरु स्याङजा जाने भएका छन् । आगामी माघ १० गते हुने नेपाली कांग्रेस स्याङजाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासहितका केन्द्रीय नेताहरु स्याङजा जाने भएका हुन् ।

नेपाली काङ्ग्रेस स्याङ्जाका सचीव दामोदर लम्सालका अनुुसार स्याङजामा हुन लागेको जिल्ला सम्मेलनमा सभापति देउवा सहित उपसभापति एवम् नेपाल सरकारका उपप्रधानमन्त्री पुर्ण बहादुर खड्का,पार्टीका उपसभापति एवम् नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ,महामन्त्रीहरु गगन कुमार थापा र बिश्वा प्रकाश शर्मा, सह महामन्त्री जीवन परियार, नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा पार्टीका पुर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य डा.शेखर कोइराला,केन्द्रीय सदस्य तथा नेपाल सरकार गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी,नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतको उपस्थिति रहनेछ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले माघ २ र ३ गते बसेको पदाधिकारी बैठकले गरेको जिल्ला सम्मेलन गर्ने निर्णयलाई सफल बनाउन विभिन्न उप समिती समेत तय गरिसकेको छ । माघ १० गते हुने जिल्ला सम्मेलन स्याङ्जाको सिटिहलमा हुनेछ । उक्त सम्मेलनका लागि उप समिति समेत गठन गरिएको छ । साङ्ठानिक प्रतिवेदनरनिति तथा कायर्क्रम तयारी उप समितीमा जिल्ला सचीव गुरु प्रसाद भट्टराई,जिल्ला सचीव दामोदर लम्साल रहेका छन् ।

त्यस्तै कोषाध्यक्ष जनक काफ्लेको संयोजकमा आर्थिक ब्यबस्थापन उप समिति,प्रवक्ता भरत लम्सालको संयोजकमा सूचना तथा संचार उप समिति, जिल्ला सदस्य नवराज सुवेदीको संयोजकमा खाजारनास्ता ब्यबस्थापन उप समिति,सह सचीव ध्रुव बन्धु पौडेलको संयोजकमा सम्मान पत्र उप समिती, जिल्ला सदस्य हिरादेवि शर्माको संयोजकमा अतिथि संमान तथा सत्कार उप समिती,जिल्ला कार्यसमिति सदस्य घनश्याम रिजालको संयोजकमा सास्कृतिक उप समिती,पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारीको संयोजकमा मञ्च ब्यबस्थापन उप समिती र यातायातको ब्यबस्थापन स्वयं जिल्ला कार्यसमितिले गर्ने गरि निर्णय भएको सचीव लम्सालको भनाइ छ ।

गठबन्धन तत्काल भत्काउनुपर्छ भन्ने ओलीलाई सिटौलाको जवाफ– १० वर्ष गठबन्धन भत्किँदैन

प्रमुख विपक्षी दल एमालेले ०८४ सम्म कुर्न नसकिने भन्दै तत्काल गठबन्धन तोडेर नयाँ सरकार वा मध्यावधि निर्वाचनमा देशलाई लैजानुपर्ने भन्दै कसरत सुरु गरेको छ । केही दिनयता एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरूको अभिव्यक्ति विश्लेषण गर्दा उसले सरकारविरुद्ध आन्दोलनको ‘वार्मअप’ सुरु गरेको सन्देश दिएको छ ।

बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले जनताको बलमा निर्णायक आन्दोलन गरेर मिसन ८४ अगावै देशलाई निकास दिने गरी मध्यावधि निर्वाचनमा लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘देश अप्ठ्यारो स्थितिमा छ, सबैतिरबाट देश जोगाउनुपर्नेछ, यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काउनुपर्छ, तर लोभीपापीहरू नभत्किन सक्छन्,’ उनले भने, ‘यिनीहरू सबैको घाँटी, शरीर एकैठाउँ जोडिएको छ । यी एकै भ्रष्टाचारी वंशका, कमिसनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन् । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ,’ उनले भने ।

केही दिनकै तयारीमा निर्णायक लडाइँका लागि पार्टीले आन्दोलन आह्वान गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिए । ‘आन्दोलनका निम्ति पार्टीले जतिवेला सिठी बजाउँछ, त्यतिवेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्नुपर्छ । छोटो तीन दिनको तयारीमा राष्ट्रिय आन्दोलनको तयारीमा उत्रिनुपर्ने हुन सक्छ । यो मानसिकताका साथ हामी जानुपर्छ,’ उनले भने, ‘उनीहरूले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्ने स्थिति छ । अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरू एक्लै हामीसँग कोही लड्न सक्दैन भनेर आतंकित छन् । त्यसकारण समय घर्किनुअगावै हामीले निर्णायक कदम चाल्नुपर्ने हुन सक्छ र यसका लागि तयार रहनुपर्ने आवश्यकता छ ।’

गत माघ २ गते पार्टी कार्यालयमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रममा पनि ओलीले मुलुकलाई बर्बाद हुनबाट जोगाउन आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको भन्दै तयारीमा रहन निर्देशन दिएका थिए । त्यसअघि पुस २४ मा जनवर्गीय संगठनका प्रमुखहरूलाई पार्टी कार्यालयमा बोलाएर महासचिव शंकर पोखरेलले सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रियता र स्वाधीनतामाथि समेत गम्भीर आँच पुग्ने काम गरेको भन्दै आन्दोलनको वार्मअप सुरु गर्न निर्देशन दिएका थिए । तर एमाले अध्यक्ष ओली र महासचिवको अभिव्यक्तिलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले खुला च्यालेन्ज दिएका छन् । राष्ट्रिय सभामा कोशी प्रदेशका उम्मेदवारसमेत रहेका उनले बिहीबार ओखलढुंगा पुगेर गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताए ।

भारतले बाँड्ने २० करोडका आयोजना सम्झौता सार्वजनिक गर्न अर्थमन्त्रालयको असहमति

भारतीय दूतावासमार्फत् २० करोडसम्म आयोजनाका लागि सोझै रकम बाँड्ने गरी दुई देशबीच भएको सम्झौता सार्वजनिक गर्न अर्थ मन्त्रालयले असहमति जनाएको छ । लेखक तथा अन्वेषक रतन भण्डारीले सूचनाको हक प्रयोग प्रयोग गरी सम्झौताको प्रतिलिपि माग गरेपछि मन्त्रालयले सुचनाको हकमा पनि कतिपय कुरा गोप्य रहने जवाफ दिएको छ ।

भण्डारीले २०८० पुस १९ गते नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी अनुदान सम्झौताको प्रतिलिपि माग गर्दै माघ २ गते मन्त्रालयका सूचना अधिकारीसमक्ष निवेदन दिएका थिए। मन्त्रालयका सूचना अधिकारी भुपालराज शाक्यले शुक्रबार भण्डारीलाई सम्झौतासम्बन्धी कागजात गोप्य रहने जवाफी पत्र दिएका छन्।

पत्रमा लेखिएको छ, ‘तपाईँले माग गर्नुभएको सूचनाको सम्बन्धमा नेपाल सरकार कार्य सम्पादन नियमावली, २०६४ को दफा ३५ को व्यवस्था (मन्त्रिपरिषदमा भएको कारबाही प्रकट गर्न र प्रकाशन गर्न निषेध) बमोजिम मन्त्रिपरिषद् सम्बन्धी निर्णय तथा काम कारबाहीसँग सम्बन्धित कागजातहरू गोप्य रहनेछन् भन्ने उल्लेख भएको व्यहोरा आदेशानुसार अनुरोध छ। भण्डारीले भने यो सम्झौता नेपाल सरकार कार्य सम्पादन नियमावली २०६४, को दफा ३५ अनुसारको कागजात नभई भारतसँग नेपाल सरकारको अर्थसचिव र भारतीय राजदूतले आर्थिक सहयोग लिनेदिनेसम्बन्धी सम्झौता भएकाले गोप्य नहुने बताए।

२९ सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गरेको हो । सरुवामा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि फेरिएका छन् । कार्यपालिकाको निर्णय फेरेको विषयमा अधिकारीसँग बालेन असन्तुष्ट थिए । उनलाई मधेशी आयोगको सचिवको जिम्मेवारी दिएर पठाइएको छ । राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिका पठाइएको छ ।

धरानका मेयर हर्क साम्पाङले बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश

धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको शुक्रबारको एकल इजलासले उक्त आदेश दिएको हो ।

केही दिनअघि साम्पाङ आफैंले उपकुलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उनले कार्कीलाई कारबाही गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग आग्रह गर्दै पत्रसमेत पठाएका छन् । बीपी स्वास्थ्य प्रतिष्ठान संघीय सरकारअन्तर्गत पर्छ । तर मेयर हर्कले आफ्नो सीमा मिचेर उपकुलपतिको कार्यालयमा ताला लगाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *