
काठमाडौं । खोटाङको सदरमुकाम दिक्तेल बजारमा तीन दिने प्रथम राष्ट्रिय बाँस सम्मेलन आजबाट सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन ललितपुरको आयोजनामा बिहीबारदेखि सुरु भएको हो । सो सम्मेलनको उद्घाटन् वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले माटिकोरे कबर्डहलमा बाँसबाट बनेको यलम्बर बाजा बजाएर गरेका थिए । उदघाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले आगामी आर्थिक वर्षदेखि कोशी प्रदेश र खोटाङलाई केन्द्र बिन्दुमा राखेर बाँससँग सम्बन्धित राष्ट्रिय नीति, निर्माण गरिने र आफ्नो मन्त्रालयमा बाँसजन्य फर्निचरका सामाग्रीहरु प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो सम्मेलनमा राष्ट्रियदेखि अन्तराष्ट्रियस्तरबाट समेत प्रतिनिधिहरुले सहभागिता जनाएर बाँसको उपयोगिता र भविष्यको बारेमा समेत आ–आफ्ना धारणा राखेका छन् ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित तीनदिनसम्म चल्ने सम्मेलनमा बाँससँग सम्बन्धित नीति, निर्माण, खेति विस्तार, उद्यम विकास, वजारीकरण लगायतका विषयमा समानान्तर रुपमा ९ सत्रमा ४४ जना विशिष्ट व्यक्तित्वबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले जानकारी दिए । सम्पूर्ण कार्यपत्रको निचोडसहित खोटाङले घोषणापत्र जारी गरेर बाँस सम्मेलन समापन गरिने मेयर भट्टराईले बताए ।
कबर्डहलभित्र बाँससँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने र नजिकै रहेको माटिकोरे खेलमैदानमा बाँसजन्य फर्निचरका विभिन्न स्टलहरु राखिएको छ। आयोजकका अनुसार जिल्ला बाहिरका २८ वटा र जिल्लाभित्रका २३ वटा स्टलहरु रहेका छन्। स्टल राख्न बाँसकै खम्बा र चित्रा प्रयोग गरिएको छ। स्टल नजिकै बाँसकै लिङगे पीङ समेत निर्माण गरिएको छ।


















