वीरगञ्ज (पर्सा)। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण सञ्चालनमा ल्याएको छ ।
बिरामीलाई उपलब्ध गराइने स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउने उद्देश्यले उक्त उपकरण सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार प्रविधिमा आधारित उक्त उपकरणले जैवरासायनिक परीक्षण, शरीरमा रहेका विभिन्न लवण तथा खनिज तत्त्वको परीक्षण र प्रतिरक्षासम्बन्धी परीक्षण गरी तीनवटा महत्त्वपूर्ण परीक्षण प्रणालीलाई एउटै उपकरणमा एकीकृत गरेको छ ।
यस उपकरणको प्रयोगबाट एउटै प्रयोगशालामा विभिन्न प्रकारका स्वास्थ्य परीक्षण सहज रूपमा गर्न सकिनेछ । अस्पतालका अनुसार यो उपकरण मधेस प्रदेशमै पहिलोपटक जडान गरिएको हो ।नयाँ प्रविधिको प्रयोगले परीक्षण प्रक्रियालाई थप व्यवस्थित बनाउनुका साथै बिरामीले प्रयोगशालाको प्रतिवेदन प्राप्त गर्न लाग्ने समयसमेत घटाउने अपेक्षा गरिएको छ ।
वरिष्ठ प्रयोगशाला प्राविधिक शर्माका अनुसार जैवरासायनिक परीक्षण प्रणालीअन्तर्गत कलेजो, मिर्गौला, मधुमेहलगायत विभिन्न स्वास्थ्य अवस्थासँग सम्बन्धित परीक्षण गर्न सकिनेछ । त्यसैगरी, विद्युतीय प्रणालीमार्फत सोडियम, पोटासियम तथा क्लोराइडजस्ता शरीरका लवण तथा खनिज तत्त्वको परीक्षण पनि गर्न सकिनेछ ।
यसअघि विभिन्न जटिल तथा विशेष प्रकृतिका परीक्षणका लागि अन्य ठूला सहर वा सुविधासम्पन्न प्रयोगशालामा निर्भर हुनुपर्ने बाध्यता रहेकामा नयाँ उपकरणको सञ्चालनले त्यसलाई कम गर्न सहयोग पुग्ने अस्पतालले विश्वास लिएको छ ।
वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित उक्त अस्पताल विसं २०५८ मा स्थापना भएको हो । अस्पताल त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ ।




