काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी तोकिएको छ।
शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी आगामी कात्तिक ३० गतेका लागि तोकिएको हो।कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न माग गर्दै रिट दायर गरेका हुन्। साथै, नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नसमेत उनले माग गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले कार्कीलाई आईजीपी पदबाट हटाएर आफ्नो सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए। तर, कार्कीले उक्त जिम्मेवारी स्वीकार नगरी आफूलाई पदबाट हटाइएको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बाटो रोजेका हुन्।
कार्कीले आफू अन्यायमा परेको दाबीसहित न्यायिक निरूपणका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन्। अब सर्वोच्चको सुनुवाइबाट यस विवादले कस्तो मोड लिन्छ भन्ने चासो बढेको छ।




