देश

फेरिचे हेलिकप्टर दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ ।

मंगलबार फेरिचेमा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर आपसमा ठोक्किएका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।

घटनाको अनुसन्धानका लागि प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई दुर्घटनाको कारण र त्यसका कारक तत्त्वको अध्ययन तथा विश्लेषण गरी भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *