काठमाडौं । नेपाली कांग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशनमा हुने भएको हो ।
महामन्त्री गगन थापाका अनुसार १४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा भएको थियो । सो पश्चात कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारीमा जुटेको थियो ।
‘फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउने र पार्टी संगठन व्यवस्थित पछि नीति महाधिवेशन हुने महामन्त्री गगन थापाको भनाइ छ । उनका अनुसार वैशाखमा नीति महाधिवेशन गर्ने तयारी भइरहेको छ ।
गत वर्ष मंसिरको अन्तिम साता १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । । पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि बहस गर्न नपाएको गगन थापाले बताए ।
गत साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनका सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले आगामी केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गर्नुपर्ने भएपनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण नीति अधिवेशन स्थगित बन्न पुगेको थियो ।
५१ जनाको प्रतिष्ठान कार्यसमिति रहने विधानमा व्यवस्था छ । सो व्यवस्थाअनुसार पार्टी सभापतिसँगको परामर्शमा प्रतिष्ठान प्रमुखले सदस्यहरु थप्न सक्ने प्रावधान छ । प्रतिष्ठानले पूर्णता नपाएपनि नीति महाधिवेशनका लागि काम भइरहेको प्रतिष्ठान प्रमुख खड्काले बताए ।




