काठमाडौं। असार महिनाको मौलिक सांस्कृतिक परम्परा र कृषक जीवनलाई केन्द्रमा राखेर कलाकार राजेश ढकालको नयाँ म्युजिक भिडियो ‘असारे घाँसे जुहारी’ सार्वजनिक गरिएको छ।
असारे भाकाको मौलिक गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ढकालले हरेक वर्ष असारे गीत सिर्जना गर्दै आएका छन्। यस वर्षको गीतमा वैदेशिक रोजगारीका कारण गाउँघर र परिवार छाड्न बाध्य भएका युवाको पीडा, कृषक जीवनको संघर्ष र असारे खेतीको सांस्कृतिक महत्वलाई समेटिएको छ।
गीतमा विदेशिएका युवा असारे खेतीका लागि बिदा मिलाएर गाउँ फर्किएको प्रसंग प्रस्तुत गरिएको छ। साथै, खेतमा धान रोप्दै युवायुवतीले देशको गरिबी, बेथिति र आर्थिक अभाव अन्त्य गर्ने चाहनाजस्ता समसामयिक विषयलाई कलात्मक रूपमा अभिव्यक्त गरेका छन्।
गीतका शब्द र सङ्गीत राजेश ढकालकै रहेको छ भने सरोज लामिछाने, सरु गौतम र कोपिला तामाङ वाइबाले स्वर दिएका छन्।
मिलन श्रेष्ठको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सरोज लामिछाने, सरु गौतम, कोपिला तामाङ वाइबासहित पशुपति दाहाल, रामेश्वर ढुङ्गाना, सन्तोषी ढुङ्गाना, सुरज नेपाल, रोशन नेपाल र दीपक नेपालीको अभिनय रहेको छ।




