एजेन्सी । अक्सफोर्ड युनिभर्सिटीको कोरोना भाइरस खोप निकै प्रभावकारी देखिएको छ । सो खोपले ५६ वर्षभन्दा बढी उमेरका स्वस्थ व्यक्तिमा प्रतिरोधात्मक क्षमता उत्पन्न गराएको दाबी गरिएको छ।
द लान्सेटमा प्रकाशित ५६० स्वस्थ व्यक्तिमा गरिएको एक अध्ययनमा यस्तो तथ्य सार्वजनिक भएको हो । शोधपत्रमा सीएचएडीओएक्स १ एनकोभ १९ खोपलाई सुरक्षित भएको बताइएको छ । यसमा कुनै गम्भीर प्रकारको साइड इफेक्ट देखिएको छैन।
बढी उमेरका व्यक्तिमा कोभिड–१९ संक्रमणको जोखिम धेरै हुने भएकाले यो नतिजा उत्साहजनक भएको शोधकर्ताले बताएका छन्। अक्सफोर्ड खोप समूहमा आबद्ध डा.महेसी रामासामीले बढी उमेर समूहका व्यक्तिमा खोपको राम्रो परिणाम आएकोमा खुसी व्यक्त गरेका छन्। बेलायतले अक्सफोर्डको यो खोपको १० करोड खुराक पहिले नै अर्डर दिएको छ। तेस्रो चरणको परीक्षणमा रहेको यो खोपको प्रारम्भिक परिणाम आगामी केही हप्तामा आउने अपेक्षा गरिएको छ।




