देश

माओवादी केन्द्र निकट युवाहरूले जेनजी रेडफोर्स गठनको घोषणा, भ्रष्टाचारविरुद्ध अभियान प्रमुख एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग सम्बन्धित युवाहरूले औपचारिक रूपमा नयाँ संगठन “जेनजी रेडफोर्स” गठन भएको घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले ६५ जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर रेडफोर्सले सक्रियता सुरु गरेको जानकारी गराए।

जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले संगठनको एजेन्डामा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्ष, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन, भ्रष्टाचारविरुद्ध अभियान, र २००७ सालदेखि हालसम्म सत्तामा रहेका सबै नेताहरूको सम्पत्ति छानबिन रहेको उल्लेख गरिन्।

तिमिल्सिनाले विशेष रूपमा माओवादी केन्द्रका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने जोड दिँदै, “भ्रष्टाचार पुष्टि भएमा हाम्रो सुप्रिम कमान्डरसहित सबैलाई कारबाही गर्न रेडफोर्स सक्षम हुनेछ। हामी कुनै पनि भ्रष्टाचार सहन सक्दैनौं,” भनिन्।

उनले उद्योग, रोजगारी सिर्जना र समग्र आर्थिक प्रगतिलाई संगठनको एजेन्डामा राखेको बताए। साथै, कांग्रेस र एमालेले क्रान्तिकारी गतिविधिलाई ‘आतंकवादी’ भनेर वर्णन गर्ने प्रवृत्तिलाई संकेत गर्दै भविष्यमा जेनजीलाई पनि त्यस्तै दृष्टिले हेर्ने खतरा रहेको चेतावनी दिइन्।

तिमिल्सिनाले रेडफोर्स केवल माओवादी केन्द्रको मात्र नभई नेपालभरिका वामपन्थी र कम्युनिस्ट विचारधारा मान्ने सबैलाई जोड्ने उद्देश्यले गठन भएको बताए। उनका शब्दमा, “हामी भ्रष्टाचार विरुद्ध आवाज उठाउनेछौं र कुनै पनि गलत कार्य सहन सक्दैनौं। यदि आवश्यक परे हाम्रो सुप्रिम कमान्डर समेत कारबाहीको दायरामा पर्न सक्नेछ।”

विश्लेषकहरूका अनुसार, जेनजी रेडफोर्सको गठनले युवा वर्गमा राजनीतिक सक्रियता र भ्रष्टाचार विरोधी चेतना बलियो बनाउने उद्देश्यका साथै माओवादी केन्द्रको प्रभाव विस्तार गर्ने रणनीति प्रकट भएको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *