काठमाडौं । जेनजी आन्दोलनकै क्रममा काठमाडौं जिल्ला अदालतमा लागेको आगलागीले देशका ठूला आपराधिक प्रकरणसँग सम्बन्धित महत्त्वपूर्ण फाइलहरू खरानी बनाएपछि घटना शङ्काको घेरामा परेको छ। ६१ किलो सुन तस्करी, नक्कली भुटानी शरणार्थी र सहकारी ठगीजस्ता चर्चित मुद्दाका मिसिलहरू जलेर नष्ट भएको स्रोतले जनाएको छ ।
आगलागीले अदालतका फाँट नम्बर ९, १३ र २१ पूर्ण रूपमा नष्ट भए। तर, यिनैसँगै रहेका अन्य फाँट भने सुरक्षित रहनु घटनालाई झनै शंकास्पद बनाएको छ। फाँट नम्बर ९ मा ६१ किलो सुन तस्करीसम्बन्धी महत्त्वपूर्ण फाइलहरू राखिएका थिए। फाँट नम्बर १३ मा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरण र सुर्यदर्शन सहकारी ठगीसहितका मिसिल जले।
फाँट नम्बर २१ मा गम्भीर आपराधिक मुद्दाका फाइलहरू थिए, तर त्यससँगैको फाँट नम्बर २२ भने देखिन्छ। नेपालका ठूला राजनीतिक व्यक्तित्वहरू यी मुद्दामा प्रतिवादीका रूपमा जोडिएका छन्। नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीसहित ३१ जना प्रतिवादी थिए। मुद्दा किनारा लाग्ने तयारीमै फाइल खरानी भए।
६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरालगायत ६० जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरिएको थियो। यस प्रकरणमा २ खर्बभन्दा बढी बिगो दाबी गरिएको थियो। स्वर्णलक्ष्मी सहकारीमा रकम अपचलनसम्बन्धी मुद्दा जसमा रास्वपा अध्यक्ष रवि लामिछानेसमेत प्रतिवादी छन्, त्यसका मिसिल पनि जलेर नष्ट भए।
यति संवेदनशील फाइलहरू मात्र लक्ष्यित गरेर नष्ट पारिनु संयोग मात्रै नभई ‘सजिलै उम्काउने प्रयास’ भएको आशंका सर्वत्र फैलिएको छ। कानुन व्यवसायीहरूको भनाइमा, “यो सामान्य आगलागी होइन, कानुनी प्रक्रियाबाट उम्कन खोज्ने संगठित खेल हो।”
अब प्रश्न उठेको छ—देशका सर्वाधिक चर्चित अपराधका प्रमाणहरू जलेपछि मुद्दा कसरी अघि बढ्नेरु अपराधी न्यायको दायरामा आउने कि फाइलसँगै उम्किने?




