काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनलाई भित्रैबाट कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै विध्वंसात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गर्न आग्रह गरेको छ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरू प्रवेश गरी जे किसिमको आगजनी र तोडफोड गरिरहेका छन्, त्यसलाई हाम्रो पार्टी कडाभन्दा कडा शब्दमा निन्दा गर्दछ।”
माओवादीले आन्दोलनको मूल उद्देश्य र जनभावनालाई धुमिल पार्ने गतिविधि स्वीकार्य नभएको चेतावनी दिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताले उठाएका मुद्दा सम्बोधन गर्न बारम्बार अपिल गर्दै आएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, “यदि आगजनी वा तोडफोडमा हाम्रो कार्यकर्ता वा निकट कोही संलग्न देखिए, सरकारले प्रमाणसहित सख्त कारबाही गरोस् भन्ने हाम्रो स्पष्ट धारणा छ।”
पार्टीसँग सम्बन्धित व्यक्तिको नाम जोडेर प्रचार भइरहेकोप्रति असन्तुष्टि व्यक्त गर्दै माओवादीले त्यसलाई आधारहीन दुष्प्रचार भनेको छ। विज्ञप्तिमा समुदायलाई भ्रममा नपरी तथ्यमा आधारित धारणा बनाउन अपिल गरिएको छ।





