काठमाडौं । जिल्ला अदालत भक्तपुरले गुन्डा नाइकेका रूपमा परिचित मिलन गुरुङ (चक्रे मिलन) लाई १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले दिएको आदेशअनुसार चक्रेले धरौटी रकम बुझाइसकेका छन् र केहीबेरमा उनी मुक्त हुनेछन्।
उनविरुद्ध एक वर्षअघि दायर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुरमा सुनुवाइ भइरहेको थियो। मुद्दा अनुसार, १० भदौ २०८१ मा उनले आफ्नै भतिज मनिष रायमाझीमाथि सानोठीमीस्थित बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेका थिए भन्ने आरोप छ, जसको जाहेरी उनका काका दिनेशकुमार रायमाझीले दिएका थिए।
यसअघि बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले उनलाई अर्को मुद्दामा ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए। तर भक्तपुरमा छुट्टै मुद्दा रहेकाले उनलाई त्यसपछि प्रहरीको जिम्मा लगाइएको थियो।
१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त अपरेसनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए। तीमध्ये २८ जना छुटेका छन् भने बाँकी १९ जनामाथि मुद्दा चलाइएको छ।




