देश

भन्सार प्रमुखमाथि कार्यालयमै कुटपिट, नगर प्रहरी विवादमा

काठमाडौं । धनगढीमा शनिबार राति भन्सार प्रमुख अनन्त तिमिल्सिना र नगर प्रहरीबीचको झडप चर्किएको छ। भन्सार कार्यालयमै प्रमुखमाथि नगर प्रहरीले कुटपिट गरेको घटनाको भिडियो सार्वजनिक भएपछि विषयले थप तनावको रूप लिएको छ।

शनिबार राति करिब १० बजे नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितको टोली कैलाली भन्सार कार्यालयमा प्रवेश गरेर प्रमुख अनन्त तिमिल्सिनामाथि धकेल्दै कुटपिट गरेको सीसीटीभी फुटेजमा स्पष्ट देखिएको छ। घटना तिनले मादक पदार्थ सेवन गरिरहेका बेला भएको बताइएको छ।

धामीले भने कुटपिट नभएको, बरु तिमिल्सिनाले आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेका छन्। उनले घटनाको समय तिमिल्सिना अत्यधिक मापसे गरेको र ‘तमासा मच्चाइरहेका’ कारण विवाद भएको बताएका छन्।

नगर प्रहरी टोलीले तीव्र गतिमा आएको गाडीले ६ लेन सडकको बोटबिरुवा र जाली बिगारेपछि सो गाडीको खोजी गर्दै भन्सारको परिसरसम्म पुगेको जनाइएको छ। यही क्रममा विवाद भएको हो। घटनापछि भन्सार कार्यालयले विभागमा प्रतिवेदन पठाउने तयारी गरेको छ। प्रतिवेदनमा कार्यालयमै अनधिकृत प्रवेश गरी गरिएको कुटपिटप्रति आपत्ति जनाउँदै संलग्न नगर प्रहरीमाथि कारबाहीको माग गरिनेछ।

जिल्ला प्रहरी प्रमुख एसपी बाल नरसिंह राणाले पनि विवादबारे बुझ्ने काम भइरहेको जनाएका छन्। यस घटनाले स्थानीय प्रशासन र संघीय निकायबीच समन्वयको अभाव झल्काएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *