देश

विश्वनाथ पौडेल गभर्नर बन्ने निश्चित, ओली–देउवा सहमत

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने पक्का भएको छ। लामो समयदेखि चलिरहेको रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अन्ततः पौडेलको नाममा सहमति जुटेको हो।

पौडेल कांग्रेसको सिफारिसमा अघि बढेपछि सिफारिस समितिबाट राजीनामा दिँदै गभर्नर दौडमा खुलेर सहभागी भएका थिए। उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत भइसकेका छन्।

प्रधानमन्त्री ओली अस्वस्थ हुँदा सोमबार मन्त्रिपरिषद् बैठक स्थगित भए पनि देउवा–ओलीबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्ता भएको थियो। भेटका क्रममा देउवाले “अब यो विषय धेरै नलम्ब्याऔं” भन्दै पौडेलको नाममै अघि बढ्न ओलीलाई मनाएका थिए।

यसपछि सिफारिस समितिको बैठक आज साँझ बस्दैछ र उक्त बैठकले पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मन्त्रिपरिषद्ले त्यसपछि उनलाई औपचारिक रूपमा गभर्नरमा नियुक्त गर्ने तयारी भएको स्रोतले जनाएको छ।यस सहमतिले अब राष्ट्र बैंकको नेतृत्वमा स्थायित्व आउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *