देश

अदालतको अवहेलना मुद्दामा ज्वालालाई स्पष्टीकरण दिन सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले तीन दिनभित्र स्पष्टीकरणसहित बयान दिन आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको संयुक्त इजलासले आइतबार जारी गरेको आदेशमा संग्रौलालाई लिखित जवाफसहित उपस्थित हुन भनिएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले यो जानकारी दिएका हुन्।

संग्रौलाले चैत २२ गते रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवलको फैसलाविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्दै अदालतप्रति अपमानजनक टिप्पणी गरेकी थिइन्। उनले एक पोस्टमा लेखेकी थिइन्, “न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो।”

त्यसयता उनले पटक–पटक भिडियो र स्टाटसमार्फत अदालतप्रति असन्तुष्टि जनाउँदै आएको आरोप लगाइएको छ। सो अभिव्यक्तिलाई लिएर कानुनका विद्यार्थी प्रान्जल केसीले अदालतको अवहेलना मुद्दा दायर गरेका हुन्।

संग्रौला यसअघि पनि २०७८ मा रंगभेदी टिप्पणी गरेको आरोपमा पक्राउ परेकी थिइन् र सो मुद्दामा उनलाई धरौटीमा छोडिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *