देश

भैरहवा विमानस्थल नियमित संचालनको मागसहित व्यवसायीद्धारा आन्दोलनको घोषणा

काठमाडौं ।   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकारलाई दबाब  दिन निजी क्षेत्रका व्यवसायीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघ, नागरिक सञ्जाल रुपन्देही र रुपन्देही उद्योग व्यापार संगठनले संयुक्त रूपमा आन्दोलनको नेतृत्व गर्दै विमानस्थलको पूर्ण उपयोग हुनुपर्नेमा जोड दिएका छन्। पत्रकार सम्मेलनमार्फत उनीहरूले पहिलो चरणमा शान्तिपूर्ण प्रदर्शन, राजनीतिक दल र जनप्रतिनिधिसँग छलफल, र विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराउने कार्यक्रम सार्वजनिक गरेको स्रोतले जनाएको छ ।

दोस्रो चरणमा उनीहरूले विमानस्थलअगाडि नियमित धर्ना, विरोध प्रदर्शन, सम्बन्धित मन्त्रीहरूलाई प्रवेश रोक्ने, र कालो झण्डा देखाउने कार्यक्रम अगाडि बढाउने योजना समेत तय गरेका छन् । व्यावसायीहरुले आफ्नो मागलाई सम्बोधन गर्न नसकेको भन्दै  सरकार थप ध्यानाकर्षण गराएका हुन् ।  सरकार सो विषयमा गम्भिर नभए आन्तरिक उडान बन्द गराउने, टिकट बहिष्कारजस्ता कदम चाल्ने उनीहरुले चेतावनी समेत दिएका छन् । बारम्बार सरकारलाई उक्त विषयमा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उनीहरुले सरकारलाई खबरदारी गराएका हुन् ।

व्यवसायीहरूले भैरहवा क्षेत्रमै श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, र भिसा केन्द्रको व्यवस्था गर्नुपर्ने, म्यानपावर कम्पनीलाई सहज काम गर्न दिनुपर्ने र अन्तरप्रदेश तथा अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेका छन्। सरकारको बेवास्ताले विमानस्थल अलपत्र परेको उनीहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *