खेलकुद

सुदुरपश्चिम लगातार तेस्रोपटक एनपीएलको प्लेअफमा

काठमाडौं । साविक उपविजेता सुदुरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) को प्लेअफमा पुगेको छ । शुक्रबार दिउँसो भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदुरपश्चिम लगातार तेस्रोपटक एनपीएलको प्लेअफमा पुगेको हो ।

जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १८ रनमात्र बनाउन सक्यो । काठमाडौंको लागि रशिद खानले सर्वाधिक ३५ रन बनाए । उनले ३१ बलमा ५ चौका प्रहार गरे । यस्तै सुधान हेमान्थाले २१, साम हेजलेटले ११ र सन्तोष यादवले १० रन बनाए ।

सुदुरपश्चिमको लागि स्निल खरेलले दुई विकेट लिँदा स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलेनले समान एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह एरीले अर्धसतक बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए । यस्तै थरिन्दु रत्नायाकेले २६ र आरिफ शेखले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

काठमाडौंको लागि जहान्दद खानले ४ ओभरमा एक मेडन राख्दै २२ रन दिएर ३ विकेट लिँदा सन्तोष यादवले २ विकेट लिए ।

जितसँगै सुदुरपश्चिम ७ खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको काठमाडौं ८ अंकको साथ दोस्रो स्थानमा रहेको छ । अब काठमाडौंले आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सको सामना गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *