देश

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारको नाममा कायम

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको छ । शुक्रबार बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविलाल नेपालीले जानकारी दिए । आज भूमि व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हु्न् ।

मालपोत ऐन २०३४ को दफा २४ अनुसार जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याइएको उनले बताए । कम्पनीका तत्कालीन अध्यक्षको निर्णयले २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा सारिएको थियो । सरकारको जग्गाको हक हस्तान्तरण गर्दा सरकारको स्वीकृति चाहिने तर १० रोपनी जग्गा फुटवेयरको नाममा लैजाँदा मन्त्रिपरिषद्ले कुनै पनि निर्णय नगरेको जनाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त जग्गा प्रकरणबारे अनुसन्धान जारी राखेको छ । उक्त जग्गा प्रकरणमा चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी पक्राउ परी अदालतको आदेशमा छुटिसकेका छन् । सीआईबीले उक्त जग्गा प्रकरणमा उद्योगी विनोद चौधरीसँग पनि बयान लिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्तिको नाममा लगिएका वा लाने प्रयत्न गरिएका राज्यको नाममा रहेको सम्पत्ति सरकारको नाममा ल्याउने कार्यको थालनी भएको जनाएका छन् ।


 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *