काठमाडौं । विगतको तुलनामा अहिले बालसुधार गृहको सुरक्षामा चृुनौती देखा पर्न थालेको छ । बालसुधार गृहमा एक आपसमा आक्रमणको अवस्था र सुधार गृहमा राखिएका बालबालिकाहरुले सुधारगृह नै तोडफोड गरेर हिड्ने जस्ता समस्या पैदा हुन थालेका छन। बाल सुधार गृहमा व्यावस्थापनको उचित अभाव र समन्वयको अभावका कारण नेपालका मुख्य शहरहरुका बालसुधार गृहमा थप समस्या सिर्जना हुँदै गएको हाे ।
अभिभावकहरुले नै बालबालिकाको हरेक पक्ष सुधारका लागि बाल सुधार गृहमा लगेर राखेपनि त्यहाँको रेखदेख र व्यावस्थापनमा आएको ह्रासका कारण विविध समस्या उत्पन्न हुने गरेका छन् । यस्ता समस्या उत्पन्न हुन नदिन र बालकालिकाको चौर्तफी सुधारका लागि संम्बन्धित निकायले समयमा नै ध्यान पु¥याउन आवश्यक रहेको छ । समयमा नै यसको निराकरण गर्न नसकेको अवस्थामा बालसुधारमा लगिएका बालबालिकाको भविष्य झन विग्रने र सुधार गृहको पनि महत्व नै हुँदैन् ।
अहिले देशभरीमा भएका ८ वटा बाल सुधार गृहमध्ये ४ वटा युसेफ नेपाल नामको गैरसरकारी संस्थाले व्यवस्थापन गर्दै आएको छ । बालकल्याण समितिका पूर्व अध्यक्ष तारक धितालका अनुसार बाल सुधार गृह सञ्चालनमा राज्यले उचित ध्यान नदिएपछि क्रमश समस्या पैदा हुँदै गएको छ ।
भदौ ४ गते भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा झडपको ठूलो अवस्था सिर्जना भएको थियो । उक्त घटना सामाजिक संजालमा बाहिरिएपछि अहिले अन्य बाल सुधार गृहका बालबालिकाको मानसिकता पनि त्यही हुँदै गएको छ । भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहबाट भदौ ४ मा २ सय २१ नाबालक कैदी फरार भएका थिए । थुनामा रहेका साथीको मृत्युपछि सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरू भागेको प्रशासनले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
‘नाबालक बन्दी’ कमल बस्नेतको मृत्यु भएपछि सानो थिमीमा नाबालक बन्दीहरू आक्रोशित भएर सुधार गृह तोडेर भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई निकै मस्किल परेको थियो । भक्तपुरको प्रमुख जिल्ला अधिकारीबाट भर्खरै सरुवा भएका सह–सचिव खगेन्द्रप्रसाद रिजालले पूर्व आकलन नहुँदा बालसुधार गृहमा ठूलो समस्या उत्पन्न भएको जानकारी दिए ।
नाबालक बन्दी कमल बस्नेतमाथि सुधार गृहभित्र कुटपिटबाट मृत्यु भएको पीडित परिवारको आरोप लागेपछि त्यसबारे भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको छ ।
सुधार गृहभित्र कमल बस्नेतमाथि कुटपिट नभएको छानबिन समितिको निष्कर्ष छ । बस्नेतको मृत्युको कारण यकिन गर्न भिसेरा परीक्षण गर्न ल्याबमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए । यस्तै बाँकेको डुडुवा गाउँपालिका–३, आसमानपुरस्थित जयेन्द्र बाल सुधार गृहमा पनि असोज ४ गते भएको झडपमा सुधार गृहमा राखिएका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।
लागुऔषध प्रयोगकर्ता र अन्य नाबालक कैदीको बिचमा विवाद हुँदा झडपको अवस्था सिर्जना भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार अहिले सम्म घटनाको कारण भने पत्ता लागेको छैन । युसेफ नेपालले व्यावस्थापन गर्दै आएको जयेन्द्र बाल सुधार गृहमा असोज ४ गते भएको झडपमा गम्भीर घाइते भएपछि सुलभ केसीलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि गएको थियो । उनको उपचारकै क्रममा निधन भएको थियो ।
बाँकेको सुधार गृहमा २०७९ मा पनि दुई वटा घटना भएका थिए । २०७९ पुसमा नाबालक बन्दीहरू झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । माघ अन्तिम साता सुधार गृहमा तोडफोड समेत भएको थियो । सरकारुले , ‘बाल सुधार गृहमा लगानी नगर्दा बालबालिकाको उमेर र स्वभाव अनुसार उपचार गर्न नसकिएको हो ।
पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा भदौ २६ मा झडपको कारण थियो सरुवा गरेर लगिएका र त्यहाँ पहिलेदेखि नै बसेका नाबालक कैदीहरूबिच बेमेल उत्पन्न भएको थियो । भक्तपुरबाट पठाइएका १८ मध्ये १५ जनालाई फिर्ता पठाउने सहमति भएको जनाइएको छ । पर्सामा झडप हुँदा नाबालक बन्दी ११ जना र ३ प्रहरी घाइते भएका थिए ।
१८ वर्षभन्दा कम उमेरमा अपराध गर्ने बालबालिकालाई सुधार गृहमा राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, सजाय पूरा नहुन्जेल २५–३० वर्ष हुँदासमेत उनीहरूलाई सुधार गृहमै राख्नुपर्छ । तर बाल सुधार गृहले बालकालिकामा देखा परेको समस्या समाधान गर्न सकेन भने त्यो बालसुधारको कुनै औचित्य नै हुँदैन । त्यसैले राज्यले पनि त्यस्ता बालकालिकाको सुधारका लागि बाल सुधार गृहलाई आवश्यक सहयोग गर्नु जरुरी छ ।




