काठमाडौं।आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग सुरक्षा माग गरेको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध बुधबारदेखि आन्दोलनमा उत्रिएको महासंघले बिहीबार बिहान गृहमन्त्री नारायणकानी श्रेष्ठ, काठमाडौंको सीडीओसहितसँगको छलफलमा सुरक्षा माग गरेको हो ।
महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने, ‘गृहमन्त्रालयमा आज गृहमन्त्री, काठमाडौंका सीडीओसहितसँग छलफल भयो । हामीले सुरक्षा माग गरेका छौं । माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गर्दा सुरक्षा हुनुपर्छ भनेका छौं ।’ गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता आएको सुवेदीको भनाइ छ ।
बुधबार शिक्षकहरूले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र शिक्षकहरूबीच धकेलाधकेल भएको थियो । गृह मन्त्रालयमा शिक्षक महासंघका मागका विषयमा सामान्य छलफल भएको महासचिव सुवेदीले बताए ।




