राजनीति

नेपाली समाजमा नकारात्मकता हाबी भएकोमा शंकर भण्डारीको चिन्ता

काठमाडौं । का‌ग्रेस सांसद शंकर भण्डारीले नेपाली समाजमा नकारात्मकता हाबी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभामा शुक्रबार बजेटमाथिको छलफलमा सहभागी हुँदै भण्डारीले समाजमा चर्का कुरा गर्नेहरु लोकप्रिय हुनु बेठीक भएको टिप्प्णी गरे । ‘नेगेटिभ कुरा बिक्ने, बाहिर जे कुरा मन पराइन्छ त्यसमा तल्लीन भएर बोल्ने प्रवृत्तिले प्रदूषित राजनीति बढेको छ’, भण्डारीले भने ।

सबैभन्दा म जान्ने सुन्ने, आफू मात्र सही, आफूले कहिल्यै गल्ती गर्दिन र गरेको छैन भन्ने र अरुलाई केही नजान्ने र अरुका गल्ती मात्रै औंल्याएर आफू सही भएको प्रमाणित गर्न खोज्नु मुलुकका लागि घातक भएको उनको तर्क थियो । ‘अरुलाई गाली मात्र गरेर मुलुक भन्दैन’, प्रतिनिधिसभामा आएका नयाँ दलतर्फ लक्षित गर्दै उनले भने ।

उनले विभिन्न कालखण्डमा मुलुक निर्माणमा योगदान नगर्नेहरुलाई अपमानित गरेर कहीं पनि नपुगिने उनको भनाइ थियो ।
भण्डारीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा गाँजा खेती प्रवद्र्धन गर्ने योजना अघि सारेकामा त्यसको समर्थन गरे । ‘गाँजा यो देशको समृद्धिको आधार हो ।

देश मुखले बनाएर बन्दैन’, भण्डारीले भने, ‘देश बनाउने आधार खोज्नुपर्छ । देश बनाउने आधारमध्ये एक गाँजा हो ।’ पूर्ववनमन्त्रीसमेत रहेका भण्डारीले साइटिस सन्धिका केही प्रावधानबाट नेपाल पछि हट्नुपर्ने र जडिबुटीको विकासमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *