बनेपा । पहिला पहिला गाई बाख्रा र घाँस दाउरा गर्ने बेलामा फाट्टफुट्ट मात्रै मान्छेको भेटघाट हुने काफलडाँडामा हिजोआज दैनिक हजारभन्दा बढीको सङ्ख्यामा मानिसको आवतजावत हुनेगरेको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका२ काफलडाँडास्थित पर्यटकीयस्थल तीन धारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै त्यहाँ मानिसको आवतजावत मात्रै नभई त्यहाँको मुहारमा समेत फरक आएको स्थानीय वासिन्दाहरु बताउँछन् ।
विशेषगरी सामाजिक सञ्जालमार्फत झरनाको बारेमा प्रचार भएसँगै अहिले सो क्षेत्रमा काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट झरना अवलोकन गर्न जानेहरुको सङ्ख्या बढेको हो । बनेपा नगरपालिका १२ का मुकुन्द शर्माले सामाजिक सञ्चालमार्फत नै थाहा पाएर झरना हेर्न पुगेको बताए ।
“सामाजिक सञ्जालबाट जति थाहा पाएको थिएँ, त्यहाँ पुग्दाखेरी त्यो भन्दा बढी छुट्टै आनन्दको महशुस भयो” उनले भने , “जानको लागि बाटो असहज भएपनि झरना पुगेपछि त्यहाँको आकर्षक प्राकृतिक सान्दर्यताले गर्दा सबै कष्ट भुलिंदो रहेछ ।”
बाटोलाई सुधार गर्दै पर्यटन पूवाधारको कामलाई अलि व्यवस्थित गर्न सकेको खण्डमा झरनामध्येकै नेपालको प्रमुख आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ ।
स्थानीयवासीको पहल र स्थानीय, प्रदेश र सङ्घ सरकारको पहलमा त्यो ठाउँको संरक्षण, प्रवद्र्धन र विकासका लागि लागेको खण्डमा झरनाको महत्व र आकर्षक थप बढ्ने उनले बताए। ललितपुर पाटनढोकाका प्रेम सुनवार पनि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा राखेको झरनाको दृश्य र तस्बिर देखेपछि घुम्न आएको बताए।“झरना जति मनमोहक छ, त्यति नै दृश्यावलोकन गर्ने ठाउँ डाँडाहरुमा हिँडडुल गर्न जोखिम रहेछ, डाँडाको वरपर बार लगाउन आवश्यक छ”, उनले भने ।
काठमाडौं महाराजगञ्जका विमला विष्टले प्राकृतिक ठाउँ भएको काण बढी सिंगार गर्नुभन्दा यस्तै अवस्थालाई संरक्षण गरेर राख्न सकेमा नै वास्तविक सुन्दरता झल्किने बताए।
त्यहाँसम्म पुग्ने बाटो अप्ठ्यारो भएपनि झरना पुगेपछि निकै आनन्द मिलेको उहाँको भनाइ छ । वडा नं १२ का वडाध्यक्ष पोते लामाले महाभारत क्षेत्रको भुरुङ्गे लेकबाट निस्केको मुहानबाट तीन ठाउँबाट झरना झरेकाले तीन धारा नाम रहेको बताए।
यस झनामा नुहाउँदा छालाका रोग निको हुने जनविश्वास समेत रहेको उहाँले बताउनुभयो । सो झरनादेखि पूर्वमा अर्का दुईवटा रानी झरना र महावीर झरना समेत उत्तिकै आकर्षक र मनमोहक रहेका छन् ।
रोशी गाउँपालिकाका प्रवक्ता पदमबहादुर लामाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरिसकेको र नेपाल पर्यटन बोर्डमा पनि संरक्षणको लागि पल भइरहेको जानकारी दिए ।
पालिकाले प्राविधिक टोली खटाएर झरना आउने जाने ठाउँको करिब एक किलोमिटरको बाटोमा दुबैतिर बार लगाउने र झरना आसपासमा हिँडडुल गर्न सहज हुने गरी बार गर्ने तयारीमा रहेको बताए ।


गाउँपालिका अध्यक्ष दलबहादुर लामाले त्यो ठाउँसम्म पुग्ने बाटो असजिलो भएकाले त्यसलाई व्यवस्थापन गर्न टाढाटाढाबाट आउने पर्यटकलाई बस्नको लागि राम्रो व्यवस्था समेत गर्नुपर्ने आवश्यकता औँल्याए ।
यसका लागि प्राविधिक टोली खटाएर अनुसन्धान गरिने र बासस्थानको लागि घरबास बनाउन अनुदानको व्यवस्था पनि गरिनेछ ।
पहिला घरायसी सामान किन्नको लागि समेत तल बेंशीको पलह झर्नुपर्ने चण्डी र काफलडाँडाका स्थानीय वासिन्दाले अहिले झरनाका कारण आन्तरिक पर्यटकको वृद्धि भएसँगै बाटो छेउछाउमा व्यवसायका लागि पसल राख्न थालेका छन् । बाटो छेउमा जग्गा हुनेले आफ्नै र कसैले भाडामा जग्गा लिएर पसल शुरु गरेका छन् ।
काफलडाँडाका ईश्वरी मगरले झरना हेर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि बाटो छेउमा पसल राख्नु शुरु गरेको बताए। “मान्छेको आगमन बढ्दै गएपछि अलिअलि भएपनि हुन्छ कि भनेर व्यापार गर्न थालेको हुँ” उनले भने , “दैनिक गुजारा गर्न पुग्ने ब्यापार भएको छ ।” उहाँ मात्रै नभई त्यहाँका अरु गाउँलेले पनि त्यसरी नै त्यहाँ फलेका फलफूलको पसल राखेर व्यवसाय शुरु गरेका छन् ।
सोही डाँडामा मःमः पसल शुरु गर्नुभएका मनोज बराइलीले अचेल दैनिक ४ देखि पाँच हजारसम्म आम्दानी भएको बताए।
रोशी गाउँपालिका १ नारायणटार घर भई धुलिखेलमा स्नातक तहमा अध्ययन गर्दै आउनुभएका कोरोना भाइरस महामारीले बन्दाबन्दी भएपछि गाउँमा आएर मःम पसल शुरु गरेको बताए।
पर्यटकको चहलपहल बढेसँगै फलामेसाँघु, नारायणटार, चण्डीवेशी चण्डीडाँडा र काफलडाँडाले बजारको रुप लिँदै छ ।




