काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ।
नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि कारोबार स्थगित गरिएको हो।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन।
यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने भन्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न आग्रह गरेको थियो।
सोही आग्रहका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ को उपनियम १ अनुसार आज असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको जनाएको छ।
नेप्सेले कारोबार स्थगित गर्नुपरेकोमा लगानीकर्ता तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।




