काठमाडौँ । घर निर्माण वा खरिद गर्न चाहने ग्राहकका लागि वाणिज्य बैंकहरूले हाल सस्तो ब्याजदरमा आकर्षक घरकर्जा स्किम सार्वजनिक गरेका छन् । हाल ब्याजदर घट्दो क्रममा रहेकाले बैंकहरूले औसत ७ प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा उपलब्ध गराउने प्रतिस्पर्धा थालेका हुन् ।
नबिल बैंकले ७ र १० वर्ष अवधिका लागि क्रमशः ६.९९ र ७.४४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ भने एम्बेसि बैंकले ८.५० प्रतिशतमा घरकर्जा दिइरहेको छ । माछापुच्छ्रे बैंकले ५, ७–१० र १० वर्षभन्दा बढी अवधिका लागि क्रमशः ७.५०, ७.५० र ८.५० प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी सनराइज बैंकले १५ वर्ष अवधिका लागि ८.४४ देखि ११.९९ प्रतिशत ब्याजदर कायम गरेको छ भने कुमारी बैंकले १० वर्ष अवधिका लागि ७.५९ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ । एमआईबीएल एशियाले १० वर्ष अवधिको लागि ८.५० प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।
नेपाल बैंकले ५ र १० वर्ष अवधिका लागि क्रमशः ७.१० र ८.११ प्रतिशत ब्याजदर लिएको छ भने एनएमबि बैंकले १० वर्ष अवधिका लागि ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । प्राइम बैंकले ७.९९ प्रतिशत, प्रभु बैंकले ५ वर्षसम्म र त्यसपछिका अवधिका लागि ८.५० प्रतिशत ब्याजदरमा घरकर्जा दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ५, १० र १५ वर्ष अवधिका लागि क्रमशः ७.५५, ८.०५ र ८.५५ प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल एसबिआई बैंकले ५ देखि २० वर्ष अवधिका लागि क्रमशः ६.९९, ७.४९ र ८.४९ प्रतिशत ब्याजदर कायम गरेको छ । सिद्धार्थ बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर प्रस्ताव गरेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकले ५, १० र १० वर्षभन्दा बढी अवधिका लागि क्रमशः ७.९९, ८.५५ र ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सिटिजन्स बैंकले १० वर्ष अवधिका लागि ८.५० प्रतिशत ब्याजदरमा घरकर्जा दिने जनाएको छ । कृषि विकास बैंकले ५, ७, १०, १५ र २० वर्षभन्दा बढी अवधिका लागि क्रमशः १०.१५, १०.२५, १०.५५, १०.७५ र ११.०५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, हिमालयन बैंकले ७ वर्ष अवधिका लागि ७.५९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेको छ ।
हाल वाणिज्य बैंकहरू प्रतिस्पर्धात्मक दरमा घरकर्जा योजना ल्याउँदै ग्राहकमैत्री वातावरण सिर्जना गर्दैछन् । स्थिर ब्याजदरको व्यवस्था भएकाले भविष्यमा ब्याजदर बढे पनि ग्राहकहरू सुरक्षित रहने सुविधा पनि यस स्किमले प्रदान गर्छ ।



