काठमाडौं । जीवन बीमा कम्पनीहरुले एकै महिनामा झन्डै साढे तीन अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा ठुला जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कुल व्यवसाय गरेका छन् । त्यसमा पुरानै अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क १६ अर्ब ३८ करोड ८ लाख रुपैयाँ रहेको छ । कुल व्यवसायमा १६.६५ प्रतिशत हिस्सा भने नयाँ व्यवसायको देखिन्छ ।
प्राधिकरणका अनुसार साउनमा कम्पनीहरुले ३ अर्ब २७ करोड २४ लाख रुपैयााँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ नै अगाडी छ । कम्पनीले एकै महिना १ अर्ब ३ करोड ९० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफले पनि साउनमा ४२ करोड ३७ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।तेस्रो सूचीमा रहेको सिटिजन लाइफले २५ करोड १ लाख रुपैयाँ र चौंथो स्थानमा रहेको हिमालयन लाइफले पनि २३ करोड ८० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, सूर्यज्योति लाइफले पनि २२ करोड ७८ लाख, एलआइसी नेपालले २१ करोड ३५ लाख, आइएमई लाइफले १५ करोड २७ लाख, एशियन लाइफले १५ करोड १६ लाख, रिलायवल नेपालले १४ करोड ४७ लाख, मेट लाइफले १२१ करोड ३९ लाख, सानिमा रिलायन्सले १० करोड ६६ लाख, प्रभू महालक्ष्मीले १० करोड ३८ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
यता, राष्ट्रिय जीवन बीमा कम्पनीले पनि साउयनमा ४ करोड १५ लाख, सन नेपाल लाइफले ४ करोड ४९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् ।




