अर्थ

२२ प्रतिशतले बढ्यो विकास बैंकको नाफा

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय स्तरका विकास बैंकको नाफा औसत २२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा दुई वटा बैंकको नाफा भने घटेको छ ।

विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवमा राष्ट्रिय स्तरका विकास बैंकले पाँच अर्ब ६० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आ.व.को सोही अवधिमा भने बैंकहरुले चार अर्ब ५९ करोड ६२ लाख रुपैयाँ आर्जन गरेका थिए ।

गरिमा विकास बैंकको नाफा तीन गुणा भन्दा धेरैले बढेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवमा बैंकले एक अर्ब ३१ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिमा भने बैंकले ४३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै, मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले बढेको छ । गत आवमा बैंकले एक अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आ.व.को सोही अवधिमा भने बैंकले एक अर्ब १७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरणले देखाएको छ ।

शाइन रेसुङ्गा बैंकले भने गत आवमा ६८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.४८ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

महालक्ष्मी विकास बैंकले गत आ.व.मा ५० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सांग्रिला विकास बैंकले ५३ करोड ७० लाख र कामना विकास बैंकले ६३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

तर, ज्योति विकास बैंकको नाफा भने ९२.७४ प्रतिशतले घटेको छ । बैंकले गत आ.व.मा एक करोड २३ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । यस्तै, लुम्बिनी विकास बैंकको नाफा ३० प्रतिशतले घटेको छ । बैंकले गत आ.व.मा ३७ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *