
काठमाडौं। ‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१’ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ। नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको यो प्रदर्शनी चैत ३१ गतेसम्म चल्नेछ र यसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
संघका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रविनकुमार गौतमले यस वर्षको एक्स्पोलाई समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा विकास गरिएको बताए। यहाँ पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत् प्रदर्शनी हुनेछ।
एक्स्पोमा देशभरिका नर्सरी व्यवसायीहरूबाट ७०० भन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्। साथै, मलखाद, जैविक एवं रासायनिक विषादी, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिसम्बन्धी स्टलहरू पनि रहनेछन्।
नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले यसपटक उपत्यका बाहिरका व्यवसायीहरूको समेत सहभागिता रहने भएकाले देशभरिका उत्पादनबारे जानकारी लिन सहज हुने बताए। संघले एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकनकर्ता आउने र १ करोड २५ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा राखेको छ।
मेलामा ७४ व्यावसायिक, तीन फुड, सात अफिसियल र पाँच प्रतिस्पर्धात्मक स्टल रहनेछन्। सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ तोकिएको छ।
नर्सरी व्यवसायीहरूको क्षमता विकास र हौसला बढाउन स्वस्थ प्रतिस्पर्धा गराइनेछ र उत्कृष्ट व्यवसायीहरूलाई शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। मूल्यांकनका लागि कृषि बागवानी विज्ञ, वनस्पतिविज्ञ र माटो तथा पर्यावरणविज्ञसहितको तीन सदस्यीय समिति गठन गरिएको छ। यसैगरी, ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’बाट एक/एक व्यवसायीलाई सम्मानित गरिने संघले जनाएको छ।