अर्थ

चालु वर्ष चितवनमा २७९ उद्योग बन्द, नयाँ दर्ता घटे

चितवन। चितवनमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म २७९ वटा उद्योग बन्द भएका छन्। उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका यी उद्योगहरू विभिन्न कारणले बन्द भएका हुन्। गत वर्षको सोही अवधिमा १८१ उद्योग मात्र बन्द भएका थिए।

कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका अधिकांश उद्योग वैदेशिक प्रयोजनका लागि दर्ता गरिएका थिए। कतिपय उद्योग सञ्चालन हुन नसकेर पनि बन्द भएका छन्। यस वर्ष २७३ वटा नयाँ उद्योग दर्ता भएका छन्। दर्ता भएका नयाँ उद्योगहरूमा २६२ निजी फर्म, सात सामुदायिक फर्म र चार प्राइभेट लिमिटेड रहेका छन्। गत वर्ष सोही अवधिमा ३२९ वटा नयाँ उद्योग दर्ता भएका थिए।

बन्द भएका उद्योगहरू उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक रहेका छन्। वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरी आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्ने प्रवृत्ति बढेको सूचना अधिकारी कुमालले बताए। उद्योग सञ्चालन गर्ने तर आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरूको संख्या पनि उच्च रहेको उनको भनाइ छ।

यस आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण भएका छन्। त्यसमध्ये नौ वटाले नामसारी, ३१ वटाले ठाउँसारी र २८ वटाले कारोबार संशोधन गरेका छन्।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *