काठमाडौं । पछिल्ला दिनमा बजार त्यति घटबढ नभएकाले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । त्यसैले कारोबार रकमसमेत घट्दै गएको छ ।
केही दिनअघिको मौद्रिक नीतिको समीक्षामा पूँजी बजारका विषय नसमेटिँदा बजारमा विक्री चाप परेको थियो । त्यसपछि लघुवित्त कम्पनीले १५ प्रतिशतभन्दा बढी लाभांश दिँदा ९५ प्रतिशत जगेडा राख्नुपर्ने व्यवस्था गरिएपछि बजारमा एक–दुई दिन विक्रेता हाबी भए ।
यस बीचमा बजार धेरै नै घटेको छ । सोमवार मात्रै लगानीकर्ताले रुचाइएका अर्थमन्त्री सरकारबाट बाहिरिए । बजार अब धेरै नै घटेकाले बिस्तारै बजारमा क्रेताहरू सक्रिय हुने अनुमान लगाउन थालिएको छ ।
सोही कारण लगानीकर्ताले बजार माग र आपूर्तिले निर्धारण गर्छ भन्ने बुझ्नुपर्छ । लगानी गर्नुपूर्व कम्पनीको आधारभूत र प्राविधिक पक्षहरू राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने जानकारहरू बताउँछन् ।
साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३ दशमलव ८१ अंक घटेर २ हजार १९ दशमलव ७३ विन्दुमा कायम भएको छ । यस दिन कारोबारमा आएका २६२ धितोपत्रको ३९ लाख ४६ हजार २४ कित्ता २८ हजार ६८४ पटकमा रू. १ अर्ब ३८ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये तीन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो ।
आँधिखोला लघुवित्तको शेयर मूल्य रू. १ हजार ४५, आदर्श लघुवित्तको रू. १ हजार ५१२ दशमलव ५० र खप्तड लघुवित्तको शेयर मूल्य रू. १ हजार १३१ दशमलव ९० पुगेको छ ।
मंगलवार प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ३ दशमलव ८५ प्रतिशत घटेर प्रतिकित्ता रू. ६२४ मा झरेको छ । त्यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्ष्ट्रक्सन लिमिटेडको शेयर मूल्य ३ दशमलव ८४ प्रतिशत घटेर रू. ३५१ कायम भएको छ ।
मंगलवार युनिभर्सल पावर कम्पनीको सर्वाधिक शेयर खरीद विक्री रू. ७ करोड ५५ लाख बराबरको भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६३ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम सिमेन्टको रू. ६ करोड ५० लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी लगानी समूहको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव ९७ प्रतिशत घटेको छ ।




