समाचार

मुख्य राजमार्गको हेटौँडा सडकखण्ड फराकिलो बनाउनुपर्ने

वाग्मती । हेटौँडाको मुख्य सडक फराकिलो बनाउनुपर्ने आवाज उठ्न थालेको छ । अन्य जिल्लाका मुख्य शहरका सडक फराकिलो भए पनि हेटौँडाको सडक फराकिलो पार्ने कार्यमा अवरोध हुँदै आएको थियो । अधिकांश स्थानीयवासी सडक फराकिलो पार्नुपर्ने पक्षमा रहेपनि यसका कारण विस्थापित हुनेहरू भने वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने पक्षमा छन् ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महेन्द्र राजमार्ग र त्रिभुवनराजपथ कुनैपनि हालतमा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् । आज पत्रकारसँगको कुराकानीमा उनले दुबै सडक विस्तार गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गरिने जानकारी दिएका छन् ।

प्रमुख महतले पहिले नै घर निर्माण गर्दा सडकलाई चाहिएको समयमा बिना मुआब्जा भत्काउछु भनेर सहिछाप गरेकाले अहिले बिरोध गर्नेहरूले सडक फराकिलो पार्ने काममा सहयोग पुर्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले राजमार्गको बीचबाट दायाँबायाँ २५÷२५ मिटर सडक विस्तार गर्न उपमहानगरपालिकाको कार्यपालिका बैठक र नगरसभाले निर्णय गरेर सङ्घीय सरकारलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । सडक फराकिलो बनाउन पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अवरोध गरेको कतिपयले आरोप लगाएकामा आफूले अवरोध नगरेको जिकिर उनको थियो ।

“मैले त सडकलाई ३२ मिटर फराकिलो बनाउँ भनेको छु, कतिपयले मेरो घर जोगाउन मैले यस्तो प्रस्ताव गरेको भन्छन् तर ३२ मिटर फराकिलो पार्दा मेरो घर भत्किन्छ । हेटौँडाको बजारभित्र ३२ मिटरको सडक अनि नजिकै ५० मिटरको फराकिलो सडक बनाऔँ भनेको हूँ, त्यसोगर्दा हेटौँडामा दुईटा भव्य सडक थपिन्छ र बजार फैलन्छ”, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *