ताजा समाचार

दमौलीमा रक्सी विक्रेताले नक्कली अन्त : शुल्क स्टिकर प्रयोग गरेको फेला

तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीको अनुगमन टोलीले रक्सी विक्रेताले नक्कली अन्त : शुल्क स्टिकर प्रयोग गरेको फेला पारेको छ । टोलीले शंकास्पद भेटिएको तनहुँको व्यास ३ दमौली स्थित तनहुँ वाईन सप रक्सी डिलरको गोदाम सिलबन्दी गरेको छ । अनुगमनमा गएको टोलीले नक्कली अन्तःशुल्क स्टिकरमात्र नभइ रक्सी पनि नक्कली हुन सक्ने शंका गरेको छ ।

वाईन सपमा नक्कली अन्तःशुल्क स्टिकर टासेको भेट्टाएको आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत सुर्य प्रसाद सेढाईले जानकारी दिए । ’१० कार्टुन खुकुरी रम, एउटा ब्ल्याक लेभल र अर्को एउटा डबल ब्ल्याक लेभल रक्सी जफत गरेका छौ । ’ प्रमुख सेढाईले भने ’अन्तःशुल्क स्टिकर वा समान पनि नक्कली हो त्यो हेर्न बाकीं छ ।’ प्रमुख सेढाईका अनुसार डिलरले प्रयोग गरेको अन्तःशुल्क स्टिकर शंकास्पद रहेको छ ।

‘उजुरीका आधारमा प्रहरीको सहयोगमा अपरेसन जारी गरेका छौं,’प्रमुख सेढाईले भने ‘जसको रक्सी शंकास्पद छ, त्यसलाई तत्काल सिलबन्दी गरेका छौं ।’ रक्सी पनि नक्कली हुन सक्ने हुँदा विज्ञहरूबाट परीक्षण भइरहेको उनले बताए । ‘पहिलो चरणमा स्टिकर हेरेका छौं,’ उनले भने ‘त्यसपश्चात् रक्सीको पनि परीक्षण हुन्छ ।’ ‘यूपी’ शक्तिको आधारमा अन्तःशुल्क लाग्छ । त्यसमा पनि कर छल्न खोजेको सेढाईको ठहर छ । कार्यालयले तनहुँ वाइन सपको व्यास–४ मा रहेको गोदाममा समेत तालाबन्दी गरेको छ ।

नक्कली स्टिकरबाट राजस्व छली हुनेगरेको उनले बताए । नक्कली स्टिकर भेटिएसँगै उक्त पसलका संचालक श्रीराम खनाललाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणका लिएर थप अनुसन्धान गरिरहेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *