देश

गगन थापाविरुद्ध पक्राउको कदम चालिए सशक्त प्रतिवाद गर्छौँ : महामन्त्री राणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापाविरुद्ध सरकारले पक्राउलगायतका कदम चाल्न खोजे त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै महामन्त्री राणाले थापालाई लक्षित गरी सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजे कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् ।

उनले पार्टी सभापतिविरुद्ध कुनै पनि अनुचित कदम चालिए त्यसको दृढतापूर्वक सामना गर्ने स्पष्ट पारे । बिचौलिया इनाम सापकोटाले दिएको बयानलाई आधार बनाएर थापालाई पक्राउ गर्ने प्रयास भइरहेको भन्दै उनले सरकारको सम्भावित कदमप्रति आपत्ति जनाए ।
सरकारले राजनीतिक प्रतिशोधका आधारमा कदम अघि बढाए त्यसविरुद्ध एकजुट भएर प्रतिवाद गर्न उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।

महामन्त्री राणाले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारको मर्मविपरीत रहेको आरोप लगाए । उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा पदबाट हटाएको दाबीसमेत गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *