नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकालाई जल पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ।
गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार उक्त क्षेत्रलाई जल पर्यटन प्रवर्द्धनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
उनले कुसुमदेखि अगैयासम्म करिब १२ किलोमिटर क्षेत्रलाई समेटेर बोटिङ, जिपलाइन तथा अन्य साहसिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना रहेको जानकारी दिए।
नेपालगन्ज र कोहलपुरसँग सडक सञ्जालले जोडिएको यस क्षेत्रलाई निजी क्षेत्रको लगानीमार्फत पर्यटन विकासमा अघि बढाउन आवश्यक रहेको अध्यक्ष पौडेलले बताए।
उनका अनुसार राप्तीसोनारी क्षेत्रमा हात्ती सफारी, जंगल सफारी र पैदल यात्रासहितका पर्यटन प्याकेज विकास गर्ने योजना छ। निकुञ्जको ओभरी नजिक मचान निर्माण गरी वन्यजन्तु अवलोकन तथा दृश्यावलोकनको व्यवस्था पनि गरिएको छ।
त्यसैगरी कोहलपुर, ओभरी र अगैया क्षेत्रका तीन नाकाबाट नेचर गाइडसहित निकुञ्ज प्रवेशको व्यवस्था मिलाइएको छ। यसबाट पर्यटकहरूले पर्या–पर्यटनको अनुभव लिन सक्ने बताइएको छ।
गाउँपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्दै जल पर्यटन र वन्य पर्यटनलाई एकीकृत रूपमा अघि बढाउने रणनीति लिएको जनाएको छ।




