बैंक/ शेयर

ग्लोबल आइएमई बैंक र नास–आईटीबीच अन्तरक्रिया : डिजिटल बैंकिङ सेवा र कर्जा विस्तारबारे छलफल

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग बैंकको कर्जा दायरा विस्तार, डिजिटल बैंकिङ सेवा र व्यवसाय वृद्धिसम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बैंकका प्रतिनिधिहरूले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रमा लक्षित बैंकिङ योजनाहरू, नवीन डिजिटल सेवा, तथा बैंकिङ विवरण सुरक्षित राख्ने उपायबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले ग्लोबल आइएमई बैंकले विभिन्न पेशागत समूह र व्यवसायसँग आबद्ध व्यक्तिहरूलाई लक्षित गरी व्यवसाय विस्तारका यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो। उहाँका अनुसार बैंकले मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरेर नागरिकमा वित्तीय सचेतना बढाउने अभियानलाई निरन्तरता दिइरहेको छ।

बैंक र नास–आईटीबीचको सहकार्यलाई मजबुत बनाउँदै दुवै संस्थामा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि कार्यक्रममा जानकारी दिइयो। यससँगै, ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।

ग्लोबल आइएमई बैंक हालसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

मुलुकको सबै ७७ जिल्लामा सेवा विस्तार गरेको बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान भइरहेको छ।

ग्लोबल आइएमई बैंकले देशभित्रका सेवासँगै संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *