
काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेकी छिन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहारबारे सरकारको जवाफ माग गरेकी हुन् । उनले सत्येन्द्र र नेहाको घटनाबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यसबारेमा सरकारको ध्यानाकर्षण गराइन्। विकले गृहमन्त्री लेखकको विषयमा जोडिएर आएको समाचारप्रति गम्भीर रहेको र वैवाहिक सम्बन्ध र जातिय कुरालाई लिएर गृहमन्त्रीले ठाडो निर्देशन दिने कुराको विश्वास नलागेको बताइन् ।
बैठकमा बोल्दै नेकपा एमाले सांसद हर्कमाया विश्वकर्माले पनि सत्येन्द्रराम र नेहामाथि राज्यले गरेको व्यवहारको भत्र्सना गरेका छन् । उनले उनीहरुलाई न्याय दिन माग गरे । विश्वकर्माले विवाह दर्तासमेत गरिसकेका जोडीको सम्बन्ध तोड्न राज्यशक्तिको दुरुपयोग गरेर जबरजस्ती छुट्याउन खोज्नु उनीहरुको मानव अधिकार हनन हुनु रहेको बताए ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले पनि सत्येन्द्रराम र नेहामाथि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अपराध अनुसन्धान कार्याल्यका प्रमुख एसएसपी सानुराम भट्टराईमार्फत उक्त जोडीलाई पक्राउ पूर्जी जारी गरेको आरोप लगाए । उनले गितेन्द्रबहादुर (जिवी)राई जस्ता मान्छेलाई पक्रन नसकेको भन्दै सरकारको आलोचना
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले राज्यमा सबै नागरिकको उत्तिकै अस्तित्व र आत्मसम्मान रहेको भन्दै आफूलाई सरकार हात्तीको देखाउने दाँत जस्तै लागेको बताए । उनले सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि व्यवहार अर्को भएको आरोप लगाए ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिषा नेपालीले अन्तरजातीय विवाहसम्बन्धी सर्लाही घटनामा गृहमन्त्री र प्रहरी महानिरीक्षककै संलग्नता रहेको समाचार आइरहेको भन्दै आपत्ति जनाइन् ।