काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ । सरकारले ल्याएको अध्यादेशको संसदमा प्रतिरक्षा गर्न एमालेले बुधवार सांसदहरूलाई प्रशिक्षण दिएको हो ।
संसद् भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले विज्ञहरू समेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रष्ट पार्दै सांसदहरूलाई प्रशिक्षण दिइएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरूलाई जानकारी गराएको र सदनमा थप सशक्त रूपमा धारणा राख्ने गरि अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको उनको भनाई छ ।
मुलुकको आर्थिक समृद्धिका साथै सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएको भएपनि विपक्षी दलहरुले अध्यादेशका नाममा सरकारलाई हिलो छ्याप्ने काम गरेकाले सांसदहरूलाई अध्यादेशका बारेमा जानकारी गराइएको प्रमुख सचेतक बर्तौलाले बताए । यही माघ १८ गतेदेखी संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ ।




