राजनीति

ओली मञ्चमा देखिँदा भृकुटीमण्डपमा ‘हुटिङ’

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुँदा ‘हुटिङ’ भएको छ । सामान्य अस्वस्थ भएको अवस्थामा समेत कार्यक्रममा उपस्थित भएका ओली मञ्चमा चढ्दैगर्दा भृकुटीमण्डपमा हुटिङ भएको हो ।

काङग्रेस वाग्मती प्रदेशका अध्यक्ष ईन्द्र बानियाँले स्वागत मन्तव्य राख्दैगर्दा ढिलागरी कार्यक्रममा उपस्थित भएका ओली आउँदा हुटिङ भएको थियो । ओली कार्यक्रममा उपस्थित भएसँगै उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एकै मञ्चमा देखिएको छ ।

यी तीन नेता लामो समयको अन्तरालमा एउटै मञ्चमा देखिएका हुन् । विगत एक वर्षयता प्रचण्ड र ओली एउटै मञ्चमा देखिएका थिएनन् । नेपाल र ओली भने पाँच महिनायता एउटै मञ्चमा देखिएका थिएनन् ।

हालै चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा प्रधानमन्त्री तथा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित हुँदा नेपाल र प्रचण्ड भने गएका थिएनन् । नेपालको दल नै अवैधानिक रहेको भन्दै ओलीले पार्टीको महाधिवेशन उद्घाटन समारोहमा निम्तो दिएका थिएनन् । प्रचण्डलाई निम्तो दिएपनि उनले आफू उपस्थित नभएर स्थायी कमिटी सदस्य लिलामणि पौडेललाई पठाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *