खेलकुद

नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये एकसँग खेल्ने

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वार्टारफाइनल प्रवेश गरेको छ। अब नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंकामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो। माल्दिभ्सका इस्माइली ३ रन र अजिन शून्यमा आउट भए। फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे। घानीले ३४ बलमा दुई चौका र दुई छक्का हिर्काए। माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए।

नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए। उनले ३.४ ओभरमा ११ रन खर्चिए। सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २१२ रन जोड्यो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले २७ बलमा ५२ रन जोडे।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे। मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए। नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए। विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *