काठमाडौँ । वेस्टइण्डिजले नेपाललाई पराजित गरेको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत वेस्टइण्डिजले नेपाललाई १०१ रनले पराजित गरेको हो ।
वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अलआउट हुदै २३८ रन बनाएको थियो ।
नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने गुलशन झाले ४२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३०, आसिफ सेखले २८, दिपेन्द्र सिंह ऐरीले २३, करण केसीले २८ रन बनाएका थिए ।
त्यसैगरी वेस्टइन्डिजका बलरजासन होल्डरले ३ विकेट लिए भने अल्जारी जोसेप, कीमो पाउल, अकील होसेइनले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले ५० ओभरमा ७ विकेट गुमाउदै ३३९ रन बनाएको थियो ।
वेस्टइण्डिजका लागि कप्तान शाइ होपले सर्बाधिक १३२ रन बनाए भने निकोलस पुरनले ११५ रन बनाएका थिए । दुवैले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेका थिए ।
त्यस्तै वेस्टइण्डिजका ब्राण्डन किंगले ३२, रोभमन पावेलले २९, जासन होल्डरले अविजित १६ रन बनाए ।
त्यस्तै नेपाली बलर ललित राजबंशीले ३ विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
यो जितसँगै वेस्टइन्डिजले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।
अब वेस्टइन्डिजले अर्को खेल शनिबार जिम्बाबेसँग खेल्ने छ भने नेपालले शनिबार नेदरल्याण्डसको सामना गर्ने छ ।




