मड्रिड । स्पेनिस लिग ला लिगामा रियाल मड्रिडले रियाल भल्लाडोलिडलाई २ – ० गोलले पराजित गरेको छ ।
दश खेलाडीमा समेटिएको भल्लाडोलिडविरुद्ध करिम बेन्जिमाले अन्तिम सात मिनेटमा दुई गोल गरेका हुन् ।
भल्लाडोलिडको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
८२ औँ मिनेटमा भल्लाडोलिडका सर्जियो लियोन सिँधै रातो कार्ड पाउँदै बाहिँरिदा रियालले पेनाल्टीको अवसर पायो । रियालका जाभी सान्चेजलाई फाउल गरेपछि स्थिती तनावग्रस्त बनेको थियो ।
८३ औँ मिनेटमा बेन्जिमाले पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता दिलाए । खेल सकिन एक मिनेट बाँकी हुँदा बेन्जिमालेनै गोल गरेपछि रियालले २ – ० को जित हात पारेको हो ।
कतार विश्वकपपछि रियालको यो पहिलो खेल हो । चोटका कारण फ्रान्सका बेन्जिमाले विश्वकप गुमाएका थिए ।
फ्रान्स फाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो । विश्वकपमा तेस्रो भएको क्रोएसियाका कप्तान लुका मोड्रिचले पनि सुरुवात गरेका थिए । शीर्ष स्थानमा रहेको रियाल, बार्सिलोनाभन्दा एक अंकले अघि छ ।
रियालको १५ खेलबाट ३८ र एक खेल कम खेलेको बार्साको ३७ अंक छ । ला लिगाका अन्य खेलमा गेटाफेले मयोर्कालाई २ – ० ले हरायो । काडिज र अल्मेरिया तथा सेल्टा भिगो र सेभियाले एक एक गोलको बराबरी खेले ।




