मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असार १० गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा मन्त्रिपरिषद बैठकले गरेका पछिल्ला २१ निर्णय देखिसशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा सम्मका समाचार समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

मन्त्रिपरिषद बैठकले गरेका पछिल्ला २१ निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्बजनिक भएका छन् । सोमबार बिहान बसेको बैठकले विभिन्न मन्त्रालय अन्तर्गत २१ निर्णय गरेको छ । जसमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा रहेका नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गर्ने र सरूवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कार्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

२१ दिनदेखि आन्दोलनरत संसद् सचिवालयका कर्मचारी र सरकारबीच सात बुँदे सम्झौता

बहस र छलफलपछि  संसद् सचिवालयका आन्दोलित  कर्मचारी र सरकारबीचमा साँत बुँदे सम्झौता भएको छ  । 
सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबिच सात बुँदे सम्झौता भएको हो । सरकारसँग भएको सम्झौता बमोजिम संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ ।

२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । कर्मचारीहरु आन्दोलित हुँदै संसदभवन अगाडी गएर धर्ना दिएपछि सरकारले उनीहरुको मागलाई सम्बोधन गरेको हो ।

बजेटको विषयलाई लिएर जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप

 बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको बैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विभिन्न नाराबाजी लगाउँदै विरोध जनाएपछि झडपको अवस्था सिर्जना भएको हो ।

यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए । नगरसभा बहिष्कार भएपछि नगरसभा बस्न सकेको थिएन् । असार ६ र ८ नगरसभाको बैठक बोलाइएको थियो तर ४ दल सहभागी नहुँदा उक्त बैठक स्थिगित भएको थियो ।

सोमबार मेयर राजन पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध जनाएपछि समुहमा झडप भएको थियो । नेपाली कांग्रेस र एकीकृत समाजवादी अन्तिम समयमा नगर सभा बैठकका लागि सहमत भए पनि एमाले र लोसपा सहमत नहुँदा झडपको स्थिति बनेको स्रोतले जनाएको छ । नगर सभामा झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

केन्द्रिय र प्रदेश सरकारले समानुपातिक तरिकाले बजेट विनियोजन नगरेपछि त्यसको असर स्थानीय तहमा समेत परेको छ । आन्तरिक छलफल र सम्झौता गरेर अगाडी बढ्नुपर्नेमा अहिले राजनीतिक दलहरुले इमोसन गुमाउँदै इगो लाई अगाडी बढाएपछि समस्या सिर्जना हुन थालेको हो ।

सांसदहरूका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा मन्त्री पुनले सांसदका सबै प्रश्न र जिज्ञासाका जवाफ दिए ।

२ अर्ब अबण्डामा राखिएको छैन
मन्त्री पुनले मन्त्रालयले अबण्डामा ठूलो रकम राखेको भन्ने सांसदहरूका प्रश्नको खण्डन गरे । अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ४८ अर्ब ६१ करोड मात्र विनियोजन गरिएको बताए । वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ४८ अर्ब, समपूरक अनुदानतर्फ १३ अर्ब २० करोड र विशेष अनुदान तर्फ १२ अर्ब ९० करोड गरी १ खर्ब ७४ अर्ब बढी रकम प्रदेश र स्थानीय तहमार्फत खर्च हुने रकम भएको जानकारी उनले संसद्लाई गराए ।

छलफलका क्रममा सांसदहरुले अर्थ मन्त्रालयले २ खर्ब रकम अबण्डामा राखेको आरोप लगाएका थिए । ‘अर्थ मन्त्रालयले अवण्डामा ठूलो रकम राखेको न्ने विषयमा अर्थ मन्त्रालयलाई विनियोजन गरिएको जम्मा ४८ अर्ब ६१ करोड मात्र हो । बाँकी बजेट वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ४८ अर्ब, समपूरक अनुदानतर्फ १३ अर्ब २० करोड र विशेष अनुदानतर्फ १२ अर्ब ९० करोड गरी १ खर्ब ७४ अर्बभन्दा बढी रकम प्रदेश र स्थानीय तहमार्फत खर्च हुने रकम भएको जानकारी सम्मानित संसदमा गराउन चाहन्छु’, मन्त्री पुनले भने ।

साधारण खर्च घटाउने, असार मसान्तभित्र बजेट कार्यान्वयन कार्य योजना
उनले आगामी आर्थिक वर्षका लागि चालु खर्च ६१.३१ प्रतिशत, पुँजीगततर्फ १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.७४ प्रतिशत प्रस्ताव गरिएको जानकारी दिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि चालु खर्च घटाइएको र पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको बताए ।

बजेट कार्यान्वयन प्रभावकारी बनाउन आयोजना अवधिभर आयोजना प्रमुखको सरुवा नगर्ने, राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने, विकास आयोजना कार्यान्वयनसम्बन्धी कानुन तर्जुमा गर्ने, बजेट कार्यान्वयन कार्य योजना असार मसान्तभित्र तयार गर्ने र आवश्यक कार्यविधि मापदण्ड निर्देशिका श्रावण मसान्तभित्र तयार गर्नुपर्ने व्यवस्था बजेटमा गरिएकाले पुँजीगत खर्चमा सुधार हुने तथा बजेट कार्यान्वयन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

फ्लोर क्रस गर्ने फणीन्द्रलाई कारबाही नगर्न सर्वोच्चको आदेश

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही नगर्न अदालतले आदेश दिएको छ । फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । तर, न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले देवकोटामाथि माओवादी केन्द्रले कारबाही गर्न नसक्ने सुनाउँदै सभामुखको निर्णय तथा कारबाहीको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो । सांसद देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद हुन् । यद्यपि उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो : रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौति कायम रहेको बताए ।उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्यानभएर जादु रहेको बताउनुभएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरे ।

उनले भने– ‘कतिपय चुनौतिहरु अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौति छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यि सबै कुरालाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्नेकुरा पनि थाहा छैन । सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभइएको छ । त्यस्तो विडम्वनामा हामीले बाच्नु परिरहेको छ ।’

उनले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताए । उनले अहिले पनि धेरै चुनौतिहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताए । उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए । उनले लोकतन्त्र भनेको विचारको बजार भएको बताए

निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख: गृहमन्त्री

 उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् । उनले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोध्नुभएको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए ।

उनले भने, ‘ निर्मला पन्तको हत्याराबारेको विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन । नतिजा उन्मुख छौं । यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु ।’

उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए । उनले अहिले पनि अनुसन्धान जारी रहेको बताए । ‘ दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आए जस्तो छ । दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो । त्यो प्राथमिकतामा नै छ ।’ उनले भने । उनले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरु नभुलेको पनि बताए ।

रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर

‘लिटिल बुद्ध’ का नामले चर्चित रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहरिएका छन् । आज (सोमबार) सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बमजनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ । बमजन २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । लामो समय लुकेर बसेका उनलाई पक्राउ गर्न प्रहरीले निकै कसरत गर्नु परेको थियो ।

ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले आयोगका अध्यक्ष धिताललाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सोही अवसरमा अध्यक्ष धितालले आयोगका सदस्य डा मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

डा धिताल आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसकेका छन् । उनी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको पूर्वकार्यकारी निर्देशक समेत थिए । यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा अधिकारी र शर्मालाई नियुक्त गरेको थियो । आयोगमा अध्यक्षसहित चार जना सदस्य रहने प्रावधान छ । यसअघि नै आयोगमा गौतम बंगोल सदस्यका रूपमा कार्यरत थिए ।

सो अवसरमा ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्त्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे । उनले आयोगमा पदाधिकारी नहुँदा बङ्गलादेशसँग विद्युत् निर्यातका सम्बन्धमा आवश्यक निर्णय गर्न कठिनाई भएको बताए । आयोगको पूर्णतासँगै सो प्रक्रिया समेत अगाडि बढ्ने उनको भनाइ थियो ।

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि १२ वर्षे कार्ययोजना तयार पारेको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनका लागि सम्वद्ध सबै पक्षको सार्थक सहयोग र तत्परता जरुरी रहेको मन्त्री बस्नेतको कथन छ । उनले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सहभागी गराएर रेमिट हाइड्रोको काम अगाडि बढाइएको तथा जनताको जलविद्युत् कार्यक्रममार्फत सार्वजनिक निजी साझेदारी अभियानलाई नयाँ तरिकाले अगाडि बढाउन लागिएको समेत जानकारी दिए । मन्त्री बस्नेतले आयोगले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका सम्बन्धमा प्रभावकारी काम गर्ने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, विद्युत् विकास विभाग, नेपाल प्राधिकरणका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ : महामन्त्री थापा

 नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण काँग्रेस बद्नाम भइरहेको बताए ।

‘नेपाली काँग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ । किनपनि भने काँग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । काँग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन,’ उनले भने,‘काँग्रेस भित्रको फोहोर सफा गर्ने सन्दर्भमा काँग्रेस भित्रको फोहोर थोरै छ । काँग्रेस भित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।’

सत्पात्रको खोजि गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए ।उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सिमित बनिरहेको बताए । उनले नेपाली काँग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए ।

‘हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएको जस्तो भएको छ । त्यो मिसन हराएको जस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ,’उनले भने,‘अरु राजनीतिक दलले आफ्नो ठाउँबाट प्रयास गर्नुहोला, हामीले आफ्नो ठाउँबाट प्रयास गर्नेछौँ । हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरुलाई खोजि खोजिकन ल्याउनुपर्छ ।’ महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरुलाई म किन प्रधानमन्त्री बनेको हुँ ? भन्नेकुराको जानकारी नै नरहेको बताए ।

सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा

सशस्त्र प्रहरी बल नेपालले १८ सशस्त्र प्रहरी उपरीक्षक र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको सरुवा गरेको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमाण्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमाण्ड पूर्वानुमान सूचीको आधार मानी असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो । २ वर्ष अवधि पुरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका नायव उपरीक्षकहरूको एकै पटक सरुवा गरिएको हो । सरुवा गरिएक मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् ।

पूर्वानुमान सूची अनुसार कमान्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई समेटी आगामी कमण्न्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको छ । सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करिब १० महिना अघिदेखि नै ज्येष्ठता क्रम अनुसार कमाण्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमाण्डमा पठाउँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *