मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

माघ १४ गते आइतबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा बालेनले शिक्षा विभाग प्रमुख कोइरालालाई सोधे सात दिने स्पष्टीकरणदेखि भारतविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको विजयी शुरुवात सम्मका समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

बालेनले शिक्षा विभाग प्रमुख कोइरालालाई सोधे सात दिने स्पष्टीकरण

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई सात दिने स्पष्टीकरण सोधेका छन् । स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलको निलम्बनको चर्चा सेलाउन नपाउँदै बालेनले निलम्बन गर्ने उद्देश्यले कोइरालालाई स्पष्टीकरण सोधेका हुन् ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ती गर्दा कार्यपालिकाको निर्णय कीर्ते गरेको फेला परेपछि स्वास्थ्य विभाग प्रमुख पौडेल निलम्बनमा परेका थिए । उनको निलम्बन अझै फुकुवा भइसकेको छैन । निलम्बनको प्रक्रिया पूरा गर्न बालेनले कोइरालालाई सात दिने स्पष्टीकरण पत्र बुझाएका छन् । प्रक्रिया पूरा भएसँगै शिक्षा विभाग प्रमुख कोइरालालाई निलम्बन गर्न बालेनको तयारी छ । काठमाडौं महानगरपालिका–१० रत्नराज्य स्कुललाई विज्ञान संकाय पढाउन अनुमति दिँदा कोइरालाले बदमासी गरेको भेटिएपछि उनलाई निलम्बन गर्न लागिएको हो ।

मेयरको अध्यक्षतामा रहेको नगर शिक्षा समितिलाई भएको अधिकार शिक्षा विभाग प्रमुख कोइरालाले प्रयोग गरेको तथ्य भेटिएपछि उनी निलम्बनमा पर्ने निश्चित देखिन्छ । ‘विज्ञान संकाय सञ्चालनको अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ । त्यसको अध्यक्ष मेयर हुने व्यवस्था छ, तर शिक्षा विभाग प्रमुख कोइरालाले शिक्षा समितिको निर्णय नभई रत्नराज्य स्कुललाई विज्ञान संकाय सञ्चालनको अनुमति दिने निर्णय गरेको फेला परेपछि निलम्बनको प्रक्रिया अघि बढेको हो ।

महानगरपालिकामा हुने सिन्डिकेट र सेटिङ तोड्न लागिपरेका बालेनले हालसम्म तीनजना उच्च अधिकारीलाई फायर गरिसकेका छन् । सुरुमा उनले महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई निलम्बन गरेका थिए । उनको ठाउँमा ३४ वर्षीय प्रदीप परियार आइसकेका छन् ।

भोट क्रसबारे सत्ता गठबन्धनमा गम्भीर छलफल गर्छौ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा भएको भोट क्रसबारे सत्ता साझेदार दलबीच गम्भीर रुपमा छलफल गर्ने बताएका छ्न । आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सत्तारुढ दलभित्र देखिएको यसप्रकारको वेमेललाई सामान्य ढंगले मान्न नसकिने बताएका हुन् ।

‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबिच भागबन्डा भएको थियो । तर कोसीमा भोट क्रसिङ भयो र महिला क्लस्टरमा एमाले उम्मेदवार निर्वाचित हुन पुगे । यो घटना सवै दलका लागि छलफलको विषय हुन पुगेको छ’, अध्यक्ष नेपालको भनाइ छ । बिहीबार सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन भएको थियो । १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी बन्दा कोशी प्रदेशमा भने उलटफेर भएको थियो । कोशीमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराउँदै नेकपा एमालेकी रुक्मिणी कोइराला अप्रत्याशीत रुपमा विजयी भएकी थिइन् ।

कोइरालालाई सत्ता गठबन्धनमा आवद्ध दलले नै मत दिएको भन्दै सत्ता गठबन्धनमा गम्भीर समीक्षा गर्न नेताहरुमाथि तीव्र दवाव परिरहेको छ । खासगरी सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रभित्र कांग्रेससँगको सत्ता सहकार्यबारे गम्भीर ढंगबाट समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ दवाव परेको छ ।

भिजिट भिसाको सेटिङ : अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी

भिजिट भिसाको सेटिङमा संलग्न थप सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीहरू बारेमा थप विवरण उपलब्ध गराइ दिन जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । उनीहरूविरुद्ध माघ ९ मा पक्राउ पुर्जी जारी भएको थियो । परिसरले आइतबार सरकारी वकिलको कार्यालयलाई मुद्दा बुझाएको छ ।

प्रहरीको अनुसन्धानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ भएको देखाएको छ । भिजिट भिसाको सेटिङमा अध्यागमनका कर्मचारीको भूमिकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलिया माथिको अनुसन्धानका क्रममा थप कर्मचारीको पनि संलग्नता पुष्टि भएपछि उनीहरूको खोजी भइरहेको हो । भिजिट भिसा प्रकरणमा ३९ जना पक्राउ परेकामा कीर्ते कागजपत्र बनाउने समूहविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ ।

भिजिट भिसा प्रकरणपछि अध्यागमन र प्रहरीबीच विवाद चर्किएको छ । अनुसन्धानका नाममा प्रहरीले अनावश्यक दुःख दिएको भन्दै अध्यागमनका कर्मचारीहरूले विरोध जनाउँदै आएका छन् । कर्मचारीको विरोधपछि गृह मन्त्रालयले अध्यागमन र प्रहरी कर्मचारीलाई सँगै राखेर छलफल समेत गरेको थियो । अहिले भिजिट भिसा सम्बन्धी १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू भएको छ ।

चीनले नेपालबारे उठाएका तीन विषयमा नेपाल लगानीको वातावरण सहज बनाउन सहमत

चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग विदेश उपमन्त्री सुन हेयानको नेतृत्वमा नेपाल भ्रमणमा आएको चीनको प्रतिनिधिमण्डले आइतबार नेपालका राजनीतिक दलका नेतासँग संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी लगायत राजनीतिक दलका नेताहरुको सहभागिता रहेको कार्यक्रममा विदेश उपमन्त्री हेयानले नेपालले व्यावसायिक वातावरणमा संकट देखा परेको भन्दै यसलाई सुधार गर्न आश्यक रहेको बताएकी थिइन् । चिनियाँ उपमन्त्री सुन हेयानले नेपाल आउनु अघि चीनका व्यवसायीसँग गरेको छलफलमा नेपालको व्यावसायिक वातावरण र व्यावसायिक नीति अस्थिर रहेकाले चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहे पनि नेपालको नीतिगत अस्थिरताका कारणले लगानी गर्न डराएको बताएकी थिइन् ।

चिनियाँ प्रतिनिधी मण्डलको टोलीले नेपालमा अन्य देशको हस्तक्षप बढेकाले चीनले नेपालमा संचालन गरेको विकास परियोजनाको विषयमा बाधा पुग्ने बताएका छन् । अन्य छिमेकी राष्ट्रहरुको बाह्य हस्तक्षेपका कारण नेपालमा हरेक कुरामा द्धोन्द्वको अवस्था सिर्जना हुने अवस्था बनिरहेकाले यसले नेपाल र चीनको सम्बन्धमा असर पुग्ने सकेत चिनियाँ प्रतिनिधी मण्डलको टोलीले बताएका छन् । उनीहरुले नेपालको विकासको बाधक तत्वमा नेपालका राजनैतिक दलहरुबीच बढेको असन्तुष्टिको खाडल रहेको समेत टिप्पणी गरेका छन् । देशको समग्र विकासका लागि सबै दलहरुको सहमति र सहकार्यको आवश्यकता रहेको बताउँदै चिनियाँ प्रतिनिधी मण्डलको टोलीले नेपालको समग्र विकासका लागि नेपालका राजनीति दलहरुले मिलेर अगाढी बढ्नुपर्ने बताएका छन् ।

नेपालमा लगानी गर्ने एजेन्सीको आवश्यकता रहेकाले नेपालमा लगानी गर्न इच्छुक वातावरण सिर्जना गर्नमा नेपाल सहमत रहेको राजनैतिक दलका शिर्ष नेताहरुले बताएका छन् । नीतिगत सुधार गर्नतर्फ ध्यान दिएको र आवश्यकताका आधारमा कानुनी व्यवस्था समेत सुधार गर्दै जाने र नेपाल आफ्नो व्यावसायिक वातावरण सुधार गर्न तयार रहेको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उल्लेख गरे । यस्तै नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पनि चीनसँग सहकार्य गर्न कांग्रेस पछि नहट्ने बताएका छन् । चिनियाँ परियोजना विदेशीले गिजोल्ने गरेको प्रश्नमा यस्तो हुन नदिने नेपाली नेताहरुको भनाइ छ । नेपालका शिर्ष नेताहरुले नेपालमा देखिएका वर्तमान समस्याको समाधानमा दलहरु मिलेर जाने समेत उल्लेख गरेका छन् ।

घुस दिने र लिने दुवैलाई भ्रष्टाचार मुद्दा

 अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस दिने र लिने दुवैलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले राहदानी विभागमा करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराई र एक सेवाग्राहीविरूद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर भट्टराईले सेवाग्राही सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुरु भयो एकीकृत समाजवादीको केन्द्रीय परिषदको दोस्रो बैठक

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषदको दोस्रो बैठक काठमाडौंको कमलादीमा शुरू भएको छ । बैठक आइतवार आइतवार मध्यान्हपछि प्रज्ञा भवनमा शुरू भएको सो पाटीले जनाएको छ । बैठकको उद्घाटन पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेका हुन् । काठमाडौंमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।

विशेष गरी एकीकृत समाजवादीले विधान हेरफेर गर्न केन्द्रीय परिषद्को बैठक राखेको हो । एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । दोस्रो केन्द्रीय परिषद्को बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने एक नेताले जानकारी दिएका छन् ।

सभापति देउवाद्वारा थारू संघको केन्द्रीय समितिमा ९८ सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन थारु संघको केन्द्रीय तदर्थ समितिका सदस्य मनोनित गरेका छन् ।

सभापति देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ सदस्यहरु मनोनयन गरेका हुन् ।

मंगलबार नेपालमा हिउँदे वर्षा हुने प्रक्षेपण

नेपालमा मंगलबार र बुधबार यस वर्षको पहिलो हिउँदे वर्षा हुने प्रक्षेपण गरिएको छ । पश्चिम वायु ढिलो गरी भारतको पन्जाब, हरियाना, उत्तर प्रदेश हुँदै आइतबार सुदूरपश्चिमसम्म पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति र सोमबार सुदूरपश्चिमबाट सामान्य बदली हुँदै मंगलबार वर्षा, उच्च हिमाली र पहाडी भागमा हिमपात हुने छ ।

आइतबार कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका धेरै भागमा बाक्लो हुस्सु लागेको छ । कैलाली, कञ्चनपुर पश्चिम वायुको सामान्य प्रभाव आज रातिदेखि नै देख्न सकिने अनुमान गरिएको छ। हिउँदे वर्षा भने सोमबार रातिदेखि बिहीबारको बीचमा हुने सम्भावना छ ।

प्रहरी समायोजन अगाडि बढाउने निर्णय

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीसँग प्रहरी समायोजनको विषयमा छलफल गरेका छन् । गृहमन्त्री श्रेष्ठले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीसँग प्रहरी समायोजन, सङ्घीय प्रहरी विधेयक र देशको शान्ति सुरक्षाको सम्बन्धमा छलफल गरेका हुन् ।

सङ्घ, प्रदेश र स्थानीय तह )समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम गृहमन्त्रीको अध्यक्षतामा बसेको गृह विषयगत समितिको बैठकले प्रहरी समायोजनलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय गर्ने सम्बन्धी ऐनको समसामयिक परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकोले त्यसलाई समसामयिक रूपमा परिमार्जन गर्ने निर्णय भएको जानकारी दिए ।

उनले नेपाल प्रहरी ऐन र स्थानीय प्रशासन ऐन तर्जुमाको चरणमा रहेकाले यसलाई पनि अरू ऐनसँग तालमेल हुनेगरी नयाँ कानुन निर्माण गर्ने निर्णय भएको जानकारी दिए । निर्णयलाई माघ १७ गते प्रधानमन्त्रीको अध्यक्षतामा सञ्चालन हुने राष्ट्रिय समन्वय परिषद्को बैठकमा पठाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो। त्यस्तै, मुलुकको शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउनका लागि सङ्घीय गृह मन्त्रालय र प्रदेशका सम्बन्धित मन्त्रालयले थप सहकार्य गर्ने निर्णय पनि भएको छ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बैठकले माघ १७ गते प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय समन्वय समितिको बैठकले प्रहरी समायोजनको कामलाई अगाडि बढाउने बताए । उनले सो समितिको बैठकपछि प्रहरी समायोजन समिति बन्ने र समितिले प्रहरी समायोजनको काम आरम्भ गर्ने बताए । उनले प्रहरी कर्मचारी समायोजन ऐनलाई आवश्यकता अनुसार संशोधन गर्दै प्रहरी समायोजन तुरुन्तै अगाडि बढाउने निर्णय भएको बताए ।

उनले प्रदेश सरकारले संविधानले प्रदत्त गरेका अधिकार खोजिरहेको स्पष्ट पारे । उनले प्रहरी समायोजनका लागि आफूहरूले पटक–पटक सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको भन्दै यो विषय छिट्टै टुङ्ग्याउनुपर्ने बताए ।

भारतविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको विजयी शुरुवात

 इङल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ ।

टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको २३१ रनको लक्ष्य पछाएको भारत २०२ रन बनाएर अलआउट भएपछि इङल्याण्ड २८ रनले विजयी भएको हो । यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा २४६ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ४३६ रन बनाएको थियो । भारतले पहिलो इनिंगमा १९० रनको अग्रता लिएको थियो । दोस्रो इनिंग ब्याटिंग गर्न आएको इङल्याण्डले ४२० रन बनाएपछि भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब दोस्रो टेस्ट फेब्रुअरी २ देखि शुरु हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *