मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

कार्तिक ३ गते शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा गाजामा क्षेत्र ः नागरिक आन्दोलनको प्रदर्शनमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी देखी सुनको मूल्य हालसम्मकै उच्च सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

गाजामा क्षेत्र नागरिक आन्दोलनको प्रदर्शनमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं । इजरायलमा प्यालेसटाइनको आतंकवादी समुह हमासले गरेको आक्रमणमा परी सयौँको संख्यामा सर्वसाधारणले ज्यान गुमाएपछि आन्दोलन स्थगित गर्न माग राख्दै काठमाडौंमा प्रर्दशन भएको छ । शुक्रबार काठमाडौंँमा नेपालका लागि इजरायली दूतावास कार्यालयअघि प्रदर्शन भएको हो । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको हमलाका स्थगित गर्नुपर्ने बताएका छन् ।

सहभागीहरुले प्रदर्शनमा प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमीसमेत सहभागी थिए । आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले दुई देशबीचको द्धोन्द्धका कारण सर्वसाधारणले ज्यान गुमाउनु आपतिजनक भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट डा. सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए । रूपक पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन्।

राष्ट्रसङ्घका महासचिव गुटेरेसले कार्तिक १४ गते संघीय संसद्लाई सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । गुटेरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणका कार्यक्रम मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार नै संघीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको संघीय संसद् सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए ।

‘संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले २०८० कार्तिक १२ देखि २०८० साल १५ गतेसम्म गर्नु हुने नेपालको औपचारिक भ्रमणको कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत भएको र उक्त भ्रमणको सिलसिलामा उहाँले मिति २०८० कार्तिक १४ गते मंगलबार अपरान्ह ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले, सोका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई सचिवालयलाई पत्र प्राप्त भएको छ,’ गिरीले भने, ‘अब संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनका लागि संयुक्त बैठक बस्नुपर्ने भएकाले सो सम्बन्धी आन्तरिक तयारी गर्छौँ । यसबीचमा चाडपर्व पनि परेको छ । दसैँ परेको छ । लगत्तै हाम्रो आन्तरिक तयारी पनि हुनेछ ।’

महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनका क्रममा संसद्मा संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायत विभिन्न विशिष्ट व्यक्तित्वलाई संसद् सचिवालयले आमन्त्रणका लागि पत्राचार गर्ने कार्य गरिरहेको गिरीले बताए ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।

गृहमन्त्री श्रेष्ठलाई आइसियूबाट जनरल वार्डमा सारियो

चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको छ। हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् गृहमन्त्री श्रेष्ठलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए। बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो। उनको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।

एनआरएनए अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार

गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् । असोज ३० गतेदेखि काठमाडौमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका हुन् ।

‘पूर्वनियोजित रुपमा सेटिंग गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन। संघको तर्फबाट भेरोसंग मास्टर कपि माग गरिएको छ,’श्रेष्ठ र शर्माले शुक्रबार विहान संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्,‘२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले हामीलाई मान्य छैन। अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार डा.केशव पौडेलको मत शून्य देखाइएको छ। भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’

उनीहरुले हालको निर्वाचन समितिप्रति विश्वास नभएको र ११ औं महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले नै उपयुक्त निर्णय गर्ने विज्ञप्तिमार्फत जनाएका छन् । यता, निर्वाचन समितिले सून्य मत आएकोप्रति भेरो कम्पनीसँग सत्यतथ्य जानकारी मगाएको बताएको छ । ‘विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेलमार्फत प्रेसित निर्वाचन परिणाम जस्तातस्तै बाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शुन्य उल्लेख भएको कारण विवाद सिर्जन भएको र भेरो भोटिङसँग वास्तविक जानकारी लिइ सत्य तत्य सार्वजनिक गरिनेछ ।’

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उनले बताए ।

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिए । उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन् । आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिनुभयो । निजी सवारीसाधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ ।

दसैँ बिदामा आयल निगमका डिपोहरु संचालनमै रहने

दसैँको सार्वजनिक बिदामा आयल निगमका बिक्री केन्द्र (डिपो)हरू खुला रहने भएका छन् । नेपाल आयाल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा)को दिनसम्म विक्रि केन्द्र खुल्ला रहने नेपाल आयल निगमले जनाएको छ । कोशी प्रदेश अन्तर्गतको विराटनगर कार्यालय र मधेस प्रदेश स्थित अमलेखगञ्ज कार्यालय कात्तिक ४ गते अर्थात् फूलपातीका दिन र कात्तिक ९ गते पूर्णिमाका दिन खुल्ने छ । यस्तै बागमती प्रादेशिक कार्यालय थानको कात्तिक ४, ६ र ९ गते खुला रहनेछन ।

गण्डकी प्रादेशिक कार्यालय, पोखरा, कात्तिक ५ र ९ गते खुल्नेछ । लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा कात्तिक ४, ६ र ९ गते खुल्नेछन ।यसै कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत कात्तिक ४ गते एक दिन मात्र खुल्ने निगमले जनाएको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी कात्तिक ५ र ८ गते खुल्ने छ भने शाखा कार्यालय चारआली कात्तिक ४ र ८ गते खुल्नेछ । यसै गरी निगमको इन्धन डिपो, धनुषा कात्तिक ४ र ८ गते, नेपालगञ्ज कात्तिक ५ गते र वीरगन्ज कात्तिक ४ देखि ९ गतेसम्म नै खुला रहने निगमले जनाएको छ । पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई नियमित राख्न निगमले यस्तो व्यावस्था गरेको हो ।

सरकारले घटायो खसी–बोका र च्याङ्ग्राको मूल्य

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ज्यूँदो खसी–बोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । ज्यूँदो खसी–बोकाको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको हो । कम्पनीका अनुसार सरकारले सहुलियत दिएको ज्यूँदो खसी–बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको छ । बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको छ ।

पशुसेवा विभागले काठमाडौँ उपत्यकाका ११ ठाउँमा पशु चौपायाको स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको छ । अहिलेसम्म २५ हजारको सङ्ख्यामा पशुचौपायाको स्वास्थ्य परीक्षण गरिसकेको विभागले जनाएको छ । विभागको टोलीले शुरुमा चौपायाको ज्वरो परीक्षण गर्ने, त्यसपछि आँखा पाकेको, झाडा पखाला, रेबिज वा अन्य कुनै पनि प्राणघातक रोग लागे वा नलागेको परीक्षण गर्ने र त्यसपछि रोगी देखिएका चौपायाको सिङमा रातो र निरोगीको सिङमा हरियो रङ लगाउने गरेको छ ।

कलङ्की खसीबजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा परीक्षण भइरहेको विभागले जनाएको छ । विभागले सिङमा हरियो रङ लगाइएको स्वस्थ खसीबोका मात्रै खरिद गर्न आग्रह गर्दै आएको छ ।

सरकारले घटायो खसी–बोका र च्याङ्ग्राको मूल्य

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ज्यूँदो खसी–बोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । ज्यूँदो खसी–बोकाको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको हो । कम्पनीका अनुसार सरकारले सहुलियत दिएको ज्यूँदो खसी–बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको छ । बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको छ ।

पशुसेवा विभागले काठमाडौँ उपत्यकाका ११ ठाउँमा पशु चौपायाको स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको छ । अहिलेसम्म २५ हजारको सङ्ख्यामा पशुचौपायाको स्वास्थ्य परीक्षण गरिसकेको विभागले जनाएको छ । विभागको टोलीले शुरुमा चौपायाको ज्वरो परीक्षण गर्ने, त्यसपछि आँखा पाकेको, झाडा पखाला, रेबिज वा अन्य कुनै पनि प्राणघातक रोग लागे वा नलागेको परीक्षण गर्ने र त्यसपछि रोगी देखिएका चौपायाको सिङमा रातो र निरोगीको सिङमा हरियो रङ लगाउने गरेको छ ।

कलङ्की खसीबजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा परीक्षण भइरहेको विभागले जनाएको छ । विभागले सिङमा हरियो रङ लगाइएको स्वस्थ खसीबोका मात्रै खरिद गर्न आग्रह गर्दै आएको छ ।

प्रधानसेनापति शर्मा चीन जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च

दशैंमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *